माघ २१, काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भएसँगै विभिन्न आपराधिक व्यक्ति समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गर्ने क्रम पनि बढेको छ ।पछिल्लो समय राष्ट्र बैंकमा यस्ता खाले गुनासो प्राप्त भइरहेकाले विद्युतीय भुक्तानी गर्दा ध्यान दिन बैंकले आग्रह गरेको हो ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको यूजर नेम र पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको लोभ देखाएर उक्त रकम लिनको लागि पहिला रकम माग गर्ने, अत्याधिक नाफाको लोभ देखाएर गैरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको राष्ट्र बैंकले बताएको छ ।
त्यसबाट बच्न अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन बैंकले सचेत गराएको छ । त्यस्तै मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्न र यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्न पनि बैंकले आग्रह गरेको छ ।
सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउन पनि बैंकले आग्रह गरेको छ ।
अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न पनि बैंकले आग्रह गरेको छ । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने बैंकको भनाइ छ ।
कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्ने पनि बैंकले बताएको छ ।
रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक नहुने बैंकले उल्लेख गरेको छ ।
त्यस्तै कनै पनि वेबसाइटमार्फत विद्यतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो / होइन यकीन गरेर मात्र कारोबार गर्न पनि बैंकले आग्रह गरेको छ ।
कुनै पनि वेबसाइटको ठेगाना "https://" बाट शुरु भएको छ भने सुरक्षित, भरपदों र विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना "https://" बाट शुरु भए / नभएको यकीन गर्नुपर्ने पनि केन्द्रीय बैंकले बताएको छ ।
विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न पनि बैंकले आग्रह गरेको छ ।