परम्परा, जलवायु र भूगोल कृषि उत्पादनका लागि अनुकूल हुँदाहुँदै पनि नेपाल कृषिजन्य उत्पादनमा दिनानुदिन परनिर्भर बन्दै गएको छ । नेपालमा सबैभन्दा ठूलो रोजगारदाता र कुल गार्हस्थ्य उत्पादनमा करीब एक चौथाइ योगदान भएको भए तापनि नीतिगत, संरक्षणात्मक, प्रोत्साहनात्मक र सुरक्षात्मक वातावरणको कमीले गर्दा कृषिक्षेत्रमा डरलाग्दो व्यापारघाटा देखिएको छ । जीवन रक्षा र राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटोका रूपमा रहेको कृषिक्षेत्रको विकासमा उचित ध्यानको कमी र अनुचित सक्रियताको बाहुल्यका कारण यो कृषिक्षेत्रमा व्यापारघाटामा यस प्रकारको वृद्धिको अवस्था सृजना भएको हो ।
चालू आव २०७९/८०को प्रथम ९ महीनामा नेपालको कृषिजन्य वस्तुहरूको कुल आयात रू. २२७ अर्ब रहेको छ भने कृषिजन्य वस्तुको आयात राजस्व करीब रू. ४१ अर्ब बराबर रहेको छ । यस अवधिमा कृषिजन्य वस्तुको निर्यात भने रू. ५३ अर्बमा सीमित रहेको छ । यसरी कृषिजन्य उत्पादनको कुल व्यापारघाटा रू. १७४ अर्ब पुग्न गएको छ ।
तथ्यांकमा हेर्नुहोस नेपालमा कृषिजन्य वस्तुको आयातको अवस्था ।
यसरी नेपालमा कृषिजन्य वस्तुहरूको व्यापारघाटा बढाउने प्रमुख कृषिजन्य वस्तुहरूलाई देहायअनुसार वर्गीकृत गर्न सकिन्छ ।
नेपालको कृषिजन्य वस्तुको व्यापारघाटामा तरकारीको भूमिका प्रमुख रहेको छ । चालू आवको पहिलो ९ महीनामा कुल रू. १४ अर्ब बराबरको ४ लाख ८४ हजार ५ सय २८ मेट्रिक टन (मेट) तरकारी आयात भएको छ । यसरी आयात हुने तरकारीमा आलु, प्याज, लसुन र गोलभेडा प्रमुख रहेका छन् । चालू आवको पहिलो ९ महीनामा रू. ६ अर्ब ५६ करोड मूल्य बराबरको २ लाख ५७ हजार मेट ताजा आलु आयात भएको छ । यसैगरी रू. ५ अर्ब बराबरको १ लाख ३८ हजार मेट ताजा प्याज आयात भएको छ । यस्तै रू. ९३ करोड बराबरको ७ हजार ६ सय ५२ मेट लसुन आयात भएको देखिन्छ भने रू. ४८ करोड मूल्य बराबरको ३६ हजार ७ सय ८२ मेट बराबरको ताजा गोलभेडा पनि यस अवधिमा आयात भएको देखिन्छ । उचित नीति र कार्यक्रमको व्यवस्था हुनासाथ यी चारथरी तरकारीमा ६ महीनाभित्रै आत्मनिर्भर हुन सकिन्छ ।
भारतको आलुमा रोजगार सृजनालाई आधार मान्ने हो भने पनि आलु क्षेत्रमा मात्रै थप १८ लाख ७४ हजार ६ सय ७३ दिन जना रोजगारी सृजना हुने देखिन्छ । गोलभेडा, प्याज र लसुनमा पनि यही अनुपातमा रोजगारी वृद्धि हुने देखिन्छ । श्रममा आधारित तरकारी खेतीमा हुने आत्मनिर्भरताले स्वदेशमा ठूलो रोजगारी सृजना गर्न सक्ने प्रबल सम्भावना रहेको छ ।
चालू आवको प्रथम ९ महीनामा रू. ११ अर्ब बराबरको १ लाख १३ हजार २ सय ६१ मेट दलहन आयात भएको छ । तिनमा मसुरो, चना, मास, मुँग, केराउ र बोडी रहेका छन् । दलहनको कुल आयातमा मसुराको अंश मात्रै करीब ५० प्रतिशत रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने सबैप्रकारका दलहनमा नेपाल आत्मनिर्भर हुन करीब ६ महीना लाग्ने मात्र हो । सबै प्रकारका दलहनमा आत्मनिर्भर हुँदा थप १ लाख १३ हजार रोजगार सृजना हुने देखिन्छ ।
नट्सहरूतर्फ २ हजार १ सय १५ मेट बराबरको रू. ६९ करोड मूल्यको ओखर आयात भएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा अभियान सञ्चालन गर्ने हो भने ५ देखि ७ वर्षभित्र नेपाल ओखरमा आत्मनिर्भर हुने देखिन्छ ।
फलपूmलतर्फ १ लाख ८१ हजार ९ सय ४४ मेट बराबरको रू. ११ अर्बको ताजा फलपूmल आयात भएको छ । नेपालमा बढी आयात हुने फलपूmलमा स्याउ, अंगुर, अनार, केरा, कागती, आँप र सुन्तला प्रमुख रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो उपर्युक्त फलपूmलमध्ये ५ वर्षमा आँप, सुन्तला, अंगुर र अनारको आयात प्रतिस्थापन गर्न सकिन्छ । यस्तै ६ महीनामा केराको आयात सजिलै प्रतिस्थापन गर्न सकिन्छ ।
चालू आवको पहिलो ९ महीना मसलातर्फ २० हजार मेट बराबरको रू. ५ अर्बको मसला आयात भएको छ । यसरी आयात हुने मसलामा जीरा, धनियाँ, खुर्सानी, सुकमेल, ल्वाङ, मरिच, बेसार, मेथी, ज्वानो आदि प्रमुख रहेका छन् । उपयुक्त वातावरण सृजना गर्न सकेको खण्डमा उपर्युक्त मसलामध्ये खुर्सानी, बेसार, मेथी र ज्वानो आयातलाई ६ महीनामै प्रतिस्थापन गर्न सकिन्छ ।
यसैगरी चालू आवको पहिलो ९ महीनामा ९ लाख ७२ हजार ६ सय ७५ मेट बराबरको रू. ४३ अर्ब ५३ करोड बराबरको खाद्यान्न आयात भएको छ । यसरी आयात हुने प्रमुख खाद्यान्नमा चामल/धान, मकै, गहुँ र कोदो प्रमुख रूपमा रहेका छन् । उचित रणनीति अंगीकार गर्ने हो भने ६ महीनाको अवधिमा नै यी वस्तुहरूमा आत्मनिर्भर हुन सक्ने देखिन्छ ।
यस अवधिमा रू. १६ अर्ब ८१ करोड मूल्य बराबरको तेलहनका दानाहरू आयात भएको छ । यसरी आयात हुने दानाहरूमा भटमास, तोरी र बदामको बाहुल्य रहेको छ । यी तीनओटा वस्तुको नेपालमा उत्पादन सम्भावना प्रशस्त मात्रामा रहेको छ । यसैगरी यस अवधिमा ३ लाख ७० हजार ४ सय २३ लिटर बराबरको रू. ६८ अर्ब बराबरको खानेतेल आयात भएको छ । यस आयातमा भटमास र पामतेलको आयात निर्यात प्रयोजनका लागि समेत भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दा नेपालमा आन्तरिक उपभोगका लागि आयात हुने प्रमुख खानेतेलमा पामतेल, तोरी, भटमास र सूर्यमुखी तेल प्रमुख रूपमा रहेका छन् । पामतेल नेपालमा उत्पादन हुन नसक्ने भए पनि अन्य तेलमा नेपाल आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिँदैन ।
यस अवधिमा ५२ हजार ३ सय २५ मेट बराबरको रू. ३ अर्ब ४८ करोड बराबरको चिनी र मिठाई आयात भएको छ । यसै गरी यस अवधिमा ३ हजार २ सय १ मेट बराबरको रू. १ अर्ब ६६ करोडको चकलेट आयात भएको छ । नेपालमा यी वस्तुमा आत्मनिर्भर हुने आधारभूत संरचना र उद्योगहरू विद्यमान नै रहेको सन्दर्भमा थोरैमात्र संरक्षणात्मक र प्रोत्साहनात्मक नीति अंगीकार गर्ने हो भने यी वस्तुमा पनि २ वर्षभित्र आत्मनिर्भर हुन सक्ने सम्भावना छ ।
नेपालमा प्रशोधित कृषि उत्पादनको आयातको आकार पनि विशाल रहेको छ । चालू आवको प्रथम ९ महीनामा रू. १८ अर्ब बराबरको ४८ हजार २ सय ४४ मेट बराबरको तयारी खाद्य पदार्थ आयात भएको छ । यसै गरी ३ हजार ५ सय ९८ किलो लिटर बराबरको रू. २ अर्ब २० करोड बराबरको मदिराजन्य वस्तुको आयात भएको छ । मदिराजन्य उत्पादनमा लामो इतिहास रहेको सन्दर्भमा यस क्षेत्रमा थोरैमात्र ध्यान दिन सकेको खण्डमा यो आयातलाई पनि धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । यस अवधिमा २ लाख ३ हजार ९ सय ३९ मेट बराबरको रू. १४ अर्ब ८३ करोडको पशुआहार आयात भएको देखिन्छ । नेपाल प्रधान कृषि बालीमा आत्मनिर्भर हुँदा साथ यस क्षेत्रमा रहेका ठूलो आकारको आयात सजिलै प्रतिस्थापन हुन सक्ने देखिन्छ ।
यसरी भन्सारदर र क्वारेन्टाइन प्रावधानमार्फत संरक्षणात्मक र अनुदानमार्फत प्रोत्साहनात्मक नीतिको अंगीकार गरी कृषिक्षेत्रमा आत्मनिर्भर अभियान सञ्चालन गर्ने हो भने ५ वर्षभित्र नेपालमा कृषिमा आत्मनिर्भर हुने देखिन्छ । यसरी आत्मनिर्भर हुँदा यस क्षेत्रमा लाखौंको थप सम्मानजनक रोजगारी सृजना हुने देखिन्छ । यस अभियानले उत्पादन वृद्धि र रोजगार सृष्टिको नारालाई सार्थक बनाउने देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।