सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका–८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।
पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरूलाई तत्काल अस्थायी वासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई विज्ञसहित बस्तीको अनुगमन गर्न आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोवासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीयवासी भीमसेन थापाको आग्रहमा मेलम्ची–४ थकनी निवासी गरिमा भोएज ट्राभलका सञ्चालक हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त १ लाख १७ रुपैयाँ वितरण गरिएको हो । रासस