धितोपत्र बजारमा महिला सहभागिता बढाउन यससम्बन्धी साक्षरता बढाउनुपर्छ [अन्तरवार्ता]

सरिता विष्ट विगत १२ वर्षदेखि ब्रोकर व्यवसायीको रूपमा काम गर्दै आएकी छिन् । विष्ट हाल स्टक ब्रोकर एसोसिएसन नेपाल (एसबान)का उपाध्यक्ष तथा लिन्च स्टक मार्केट लिमिटेडका प्रबन्धक निर्देशक हुन् । प्रस्तुत छ, ब्रोकरका रूपमा धितोपत्र बजारमा उनको प्रवेश, ब्रोकर कम्पनीका चुनौती, यस क्षेत्रमा महिला सहभागिता लगायत विषयमा आर्थिक अभियानका लक्ष्मी शर्माले गरेको कुराकानीको सार : कहिलेदेखि ब्रोकरको रूपमा काम शुरू गर्नुभयो ? शुरुआती दिन र अहिले कस्तो पाउनुहुन्छ ? २०६८ भदौदेखि ब्रोकरको रूपमा काम शुरू गरेको हुँ । शुरुआती दिनमा अहिलेको जस्तो प्रविधि थिएन । सबै काम कागजी रूपमा गर्नुपथ्र्यो । दोस्रो बजारको बारेमा खासै अनुभव थिएन । सैद्धान्तिक ज्ञान भए पनि व्यावहारिक रूपमा कसरी काम गर्नुपर्छ भन्ने जानकारी थिएन । बिस्तारै सिक्दै काम गरियो । कागजी रूपमा हुँदै आएका कामलाई अनलाइनमार्फत गर्ने, ‘पेपरलेस’ बनाउनेसम्मका काम गरियो । ब्रोकर कम्पनी कसरी सञ्चालन गर्ने भन्ने सिक्ने मौका पनि पाएँ । समग्रमा राम्रै सिकाइ भयो । अहिलेसम्म आइपुग्दा काम धेरै सजिलो भएको छ । कोभिडको समयमा प्रविधिले ल्याएका धेरै कुरा बुझ्ने अवसर पाएँ । पछिल्लो समय लाइसेन्स पाएका ब्रोकर पनि संघीय राजधानीमै केन्द्रित भइरहँदा प्रतिस्पर्धी बजारमा कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ? नेपालमा अहिले संघीय संरचना छ । स्थानीय तहका सरकार बनेका छन् । तैपनि हरेकजसो निर्णय संघीय तहबाटै हुन्छ । महत्त्वपूर्ण सेवासुविधा अझै पनि विकेन्द्रीकरण भइसकेको छैन । त्यसमा पनि पूँजीबजारका केही काम गर्न राजधानीमै आउनुपर्छ । यसकारण ब्रोकर कार्यालय बाहिरी जिल्लामा खोले पनि सम्पूर्ण कामका लागि यहाँ आउनुपर्ने बाध्यता छ । बरु प्रविधिले चाहिँ विकेन्द्रीकरण गरेको छ । किनभने अहिले विदेशबाट पनि नेपालको पूँजी बजारमा कारोबार गर्न सकिन्छ । शेयर नामसारीका लागि पहिला ब्रोकर कार्यालयमै पुग्नुपथ्र्यो । अहिले त्यो बाध्यता छैन । दस्तखत प्रमाणित गर्न ब्रोकरकोमा धाउनैपर्छ भन्ने छैन । त्यो लगायत सबैजसो काम अनलाइनबाटै गर्न मिल्छ । धितोपत्र बजारमा प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा मानिसलाई चुनौती त हुन्छ नै । तर त्यसले सिक्ने अवसर पनि ल्याउँछ । हाम्रोमा शुल्कमा प्रतिस्पर्धा हुँदैन, प्रतिस्पर्धा हुने सेवामा हो । सेवामा कमीकमजोरी नगरेपछि प्रतिस्पर्धामा टिक्न गाह्रो हुन्छ जस्तो लाग्दैन । अझ बढी काम गर्न सकिन्छ । शेयर बजारमा महिलाको सहभागिता कस्तो छ ? सहभागिता बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ? हामीले काम शुरू गर्दाको बेलादेखि अहिलेसम्म हेर्दा महिलाको सहभागिता पूँजीबजारमा मात्रै होइन, हरेक क्षेत्रमा बढ्दै गएको पाइन्छ । महिला अगाडि बढेनन् भने त्यो परिवार नै पछि पर्छ भन्ने कुरा सबैले बुझ्न, मनन गर्न थालेका छन् । त्यो हिसाबले पछिल्लो समय महिलामा वित्तीय साक्षरता पनि बढ्दै गएको छ । पहिला पूँजी बजारमा व्यावसायिक रूपमै काम गर्ने हामी महिला थोरै थियौं । अहिले यही क्षेत्रको व्यवस्थापन तहमा बसेर काम गर्ने महिलाहरू पनि छन् । त्यसको संख्या पनि बढ्दै गएको छ । यो क्षेत्रमा महिला लगानीकर्ताको सहभागिता बढाउन पहिला साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । समय समयमा शेयर बजारमा नकारात्मक धारणा आउँछन् । शेयर बजारमा लगानी गरेर प्रतिफल लिन अत्यावश्यक एवं आधारभूत जानकारी लिनुपर्छ । जोखिम व्यवस्थापनका तरीका सिक्नुपर्छ । बुझेर, अध्ययन गरेर लगानी गरेमा जोखिम कम हुन्छ । यसका लागि आफैले पनि रणनीति बनाउनुपर्छ । आफ्नो जोखिम वहन गर्ने क्षमतालाई पनि ध्यान दिनुपर्छ । यी सबै कुरा बुझाउन सकियो भने यो क्षेत्रमा महिला मात्र होइन, सबैको सहभागिता बढ्छ । त्यसले समग्रमा देश विकासमा पनि सहयोग पुग्छ ।  धेरैजना लगानीकर्ताको गुनासो शेयर विक्री गरेपछि समयमै पैसा खातामा आउँदैन भन्ने छ । लिन्च स्टक मार्केटको अवस्था कस्तो छ ? यो समस्या पहिला कोभिडको बेलामा हामीले पनि सामना गरेका हौं । पहिला चेक लगेर डिपोजिट गर्नुपथ्र्यो । कोभिडले गर्दा मानिस घरमै बस्नुपर्ने बाध्यता थियो । अहिले बैंकहरू मर्जर भएका छन् । बैंक खाता नम्बर अद्यावधिक नभएकाको हकमा समयमै पैसा खातामा नजाने समस्या भएको हुन सक्छ । लिन्चको कुरा गर्ने हो भने हामी समयमै भुक्तानी गर्छौं । कहिलेकाहीँ प्राविधिक रूपमा केही त्रुटि भएमा मात्र समयमा खातामा पैसा जान सक्दैन, नभए समयमै भुक्तानी हुन्छ । हाम्रा सेवाग्राहीको प्रतिक्रिया ‘लिन्च स्टक मार्केटबाट शेयर विक्री गरेपछि समयमै पैसा पाइन्छ’ भन्ने छ । त्यो शाख हामीले जोगाएका छौं जस्तो लाग्छ । शेयर बजारमा लगानी गरेर प्रतिफल लिन अत्यावश्यक एवं आधारभूत जानकारी लिनुपर्छ । जोखिम व्यवस्थापनका तरीका सिक्नुपर्छ ।  हाल कारोबार रकम घटिरहेको छ । नयाँ ब्रोकर पनि थप भएका छन् । यो अवस्थामा कसरी व्यवस्थापन गरिरहनु भएको छ ? नेपालको शेयर बजारमा कुनै बेला दिनमै करीब २२ अर्ब रुपैयाँसम्मको कारोबार भयो । हामीले लाइसेन्स लिएको समयमा समग्र बजारमा दैनिक ३ करोडदेखि ४ करोड रुपैयाँको कारोबार हुन्थ्यो । अहिले एउटा ब्रोकरमार्फत नै त्यो बराबरको कारोबार भएको छ । ठूलो कमाइ भएको वर्षलाई हेरेर ‘ब्रोकरहरूले कमाइरहेका छन्’ मात्र भनिन्छ । तर एक वर्षको कमाइले ४ वर्षसम्म धान्नुपर्ने अवस्था पनि आउँछ । हामीलाई फाइदा हुन्छ भन्दैमा लगानीकर्तालाई ‘यो किन, राम्रो हुन्छ’ भन्नु गलत हो । हामी त्यस्तो गर्दैनौं । अब राम्रो समय पर्खिनुको विकल्प छैन । लगानीकर्तालाई निरन्तर राम्रो सेवा दिइरहनेछौं । अहिले नयाँ साथीहरू पनि थपिनुभएको छ । कारोबार घट्दा हामीलाई भन्दा पनि उहाँहरूलाई गाह्रो भएको हुन सक्छ । किनभने शुरूमा मार्केटमा आउँदा कसरी टिक्ने, धानिने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । यसमा सहज हुन प्रडक्टहरू थपिँदै जानुपर्छ । हामीले अहिले गरिरहेको काम खरीद र विक्रीसम्बन्धी मात्र हो । हामीले थप सेवासुविधा दिन सक्ने व्यवस्था भएमा व्यावसायिक रूपमा पनि फाइदा हुन्छ । साथै लगानीकर्तालाई पनि बजार घटबढमा आफ्नो पोर्टफोलियो व्यवस्थित गर्न सहज हुन्छ ।   यो क्षेत्रमा आउने महिलाका लागि के सुझाव दिन चाहनुहुन्छ ? यो क्षेत्रमा धेरै अवसर छन् । ब्रोकरका रूपमा आउन अहिले सजिलो भयो । म ब्रोकर भएर हेर्दा यो एक किसिमको आकर्षक क्षेत्र जस्तो देखिन्छ । यद्यपि यसका पछाडि धेरै जोखिम पनि छन् । त्यस्तो जोखिम लिन सक्नुपर्छ । कहिलेकाहीँ अप्ठ्यारा बाटा पनि आउन सक्छन् । जोखिम धेरै छन् । तैपनि सोचेर बुझेर आउनुपर्छ । त्यस्तै अरूको कुरा सुनेको भरमा भन्दा आफैले बुझेर लगानी गर्न अनुरोध गर्छु । शेयर बजार लगानीका लागि राम्रो क्षेत्र हो । यो क्षेत्रमा पनि महिलाहरू आउनुपर्छ । धेरै कुरा बुझेर, सोचविचार गरेर, अध्ययन गरेर आउनुहोस् भन्न चाहन्छु ।