इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै

एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।