मौसममा सुधार भएपछि देखिएको धावनमार्ग र सिमीकोटबजार

धेरै दिनपछि मौसममा सुधार आएर आकाश खुलेपछि रमणीय देखिएको हुम्लाको एक मात्रै सिमकोट विमानस्थलसहित बजार क्षेत्र ।  

सम्बन्धित सामग्री

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र शुरू

बागलुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र शुरू भएको छ । २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काममा दुईपटक म्याद थपिसकिएको छ । लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रवारदेखि शुरू भएको छ । २०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि वासु थापाले जानकारी दिए । कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रको कामले तीव्रता पाएको उनले बताए । ‘मौसममा सुधार भएसँगै काम शुरू भएको छ, अहिले बिटामिन छर्ने काम भइरहेको छ, तत्कालै प्लान्टबाट कालोपत्रको कच्चा पदार्थ ल्याइन्छ’, उनले भने, ‘आगामी फागुनभित्रै विमानस्थलको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिनेछ, कोरोना र वर्षाका कारण कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा छौं ।’ धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेलसमेत सम्पन्न भइसकेको थियो । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेकोमा अहिले काम प्रारम्भ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । उनका अनुसार ठेकदार कम्पनीले कालोपत्रका लागि सबै तयारी पूरा गरेर अहिले धावनमार्गको धुलो उडाउने, बिटुमिन छर्ने काम गरिरहेको छ । घाम नलागेकाले कालोपत्रमा समस्या भएको थियो, अहिले मौसममा सुधार भएकाले प्राविधिक हिसाबले काम गर्न सहज भएको उनको भनाइ छ । विमानस्थल कालोपत्रको ठेक्काको म्याद चैत मसान्तसम्म मात्रै रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्र काम बाँकी छ । कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ । २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महीना उडानसमेत भरेका थिए । तर आवश्यक पूर्वाधार अभावले अहिले विमानस्थल बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । कालीगण्डकी कोरिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट  १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रु अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस

मौसममा सुधार भएपछि देखिएको धावनमार्ग र सिमीकोट बजार

धेरै दिनपछि मौसममा सुधार आएर आकाश खुलेपछि रमणीय देखिएको हुम्लाको एक मात्रै सिमकोट विमानस्थलसहित बजार क्षेत्र। तस्बिर: दाने बोहरा/रासस