भैरवनाथ मन्दिर आकर्षणको केन्द्र बन्दै

प्रसिद्ध शक्तिपीठका रूपमा मानिने पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा अवस्थित भैरवनाथ (भैरवस्थान) मन्दिरमा एक लाख पैँसट्ठी हजार ४१ जना पर्यटक भित्रिएका छन्। यो मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार आन्तरिक पर्यटक र बाह्य पर्यटक गरी अवलोकन र दर्शन गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। यहाँ दैनिक सयौँ दर्शनार्थीको भिड लाग्ने गरेको व्यवस्थापन समितिले जनाएको छ। मन्दिर व्यवस्थापक मीनबहादुर बुढाथोकीले भन्नुभयो, “पहिला आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर र मनोकामना पूरा भएपछि रोट, बलि, पञ्चबलि चढाउने गरिन्छ। यसरी भक्तजन आउँदा छ जना पुजारीलाई भ्याइनभ्याइ हुने गर्छ।” धार्मिक आस्था बोकेको भैरव मन्दिर दर्शनका लागि र भाकलका लागि नेपालका अधिकांश जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् भने भारतबाट समेत दर्शनार्थी आउने गरेको भैरवस्थान व्यवस्थापन समितिको तथ्याङ्कमा छ। दर्शनार्थीको सुविधाका लागि रोट पकाउने, बलिका लागि बोका, कुखुरासमेत व्यवस्था गरिन्छ। प्रसिद्ध कोटका रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास भएको छ। भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन्। बुढाथोकीका अनुसार अरू बेलाभन्दा दसैँमा भैरवस्थानमा बढी भिड लाग्ने गरेको छ। योबाहेक पनि वैशाख र मङ्सिर महिनामा दर्शानार्थीको भिड लाग्छ। मन्दिरमा एक माना र एक पाथी पिठोको रोट पकाउन लगाएर चढाउने गरिन्छ।