युक्रेनी सेनाले ध्वस्त पारे रूसी तेल भण्डारगृह, बजारमा अमेरिकी तेल ल्याउने घोषणाले मूल्य घट्दै

किभ (युक्रेन) । युक्रेनी सेनाहरुले रुसी भूमिमा रहेको एउटा तेल भन्डारण केन्द्रमा शुक्रबार आक्रमण गरेको छन् । हालैका दिनमा रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेकै समयमा युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको हो । रुसी सञ्चार माध्यमहरुका अनुसार युक्रेनले रुसको बेलग्राद क्षेत्रमा रहेको विमानस्थलस्थित तेल भन्डारण केन्द्रमा आक्रमण गरेको छ । युक्रेनी हेलिकप्टरले डिपोमा मिसाइल आक्रमण गरेको भिडियो रुसको सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको थियो । आक्रमण दुई ओटा हेलिकप्टर प्रयोग भएको थियो ।  पछिल्लो समय रुस युक्रेन वार्तामा आशा देखिएकै समयमा यो आक्रमण भएको हो । आक्रमणले दुई देशबीचको शान्ति वार्तालाई प्रभवित बनाउन सक्ने चेतावनी रुसले दिएको छ । आक्रमणमा परेर तेल भन्डारण केन्द्र नष्ट भएको भएपनि मानवीय क्षति भने नभएको बताइएको छ । टर्कीको इस्तानबुलमा दुबै पक्षबीच भएको वार्ता सकारात्मक देखिएको थियो । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनको मध्यस्थतामा भएको वार्तामा रुसले केही स्थानबाट सेना हटाउने संकेत गरेको थियो । दुई पक्षबीच युद्धविराम गर्ने विषयमा सहमति हुने आशा पनि पलाएको थियो । पछिल्ला केही दिनयता रुस र युक्रेनबीचको द्वन्द्व केही कम भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले बताइरहेका थिए । चेर्नोबिल परमाणु केन्द्रबाट पनि रुसी सेना हटेका थिए ।  युक्रेनले रुसी तेल भन्डारणमा गरेको आक्रमणको प्रभाव यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ८ः३० बजेसम्म अन्तरराष्ट्रिय तेल बजारमा देखिएको थियो । यो हप्ता तेलको भाउ २ वर्षयताकै सबैभन्दा ठूलो साप्ताहिक कमी बेहोर्ने क्रममा थियो । यो समाचार तयारा पार्दाखेरि ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा १ प्रतिशतले घटेर १०७ डलर ४५ सेन्ट कायम भएको थियो । वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि १ दशमलव ५४ प्रतिशतको कमी सहित ९९ डलर ६१ सेन्टमा आएको थियो । यो हप्ता शुरु भएदेखि यो समाचार तयार पार्दाखेरिसम्म  ब्रेन्ट र डब्ल्यूटीआईको भाउ क्रमशः १४ प्रतिशत र १३ प्रतिशतले  घटेका छन् ।  बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनले रणनीतिक पेट्रेलियम भन्डारण (एसपीआर) बाट मेदेखि ६ महीनासम्म दैनिक १० लाख ब्यारेल तेल झिक्ने बताएका थिए । यो एसपीआरबाट झिक्न थालिएको अहिलेसम्मकै ठूलो परिमाणको तेल हो । शुक्रवार आकस्मिक रुपमा तेल बजारमा ल्याउने विषयमा छलफल गर्न अन्तरराष्ट्रिय ऊर्जा निकायका सदस्यहरु भेट्दैछन् । बजारमा अमेरिकी तेलको बाढी आउने सम्भावनाले तेल बजारले आगामी महीनाहरुमा पर्याप्त आपूर्ति खोज्न संघर्ष गर्नु पर्ने तथ्य परिवर्तन गर्न सक्दैन । प्रतिबन्धको असरका कारण रुसबाट दैनिक रुपमा विश्व बजारमा आउने ३० लाख ब्यारेल तेलको भर्पाई अमेरिकाले एसपीआरबाट निकाल्ने तेलले गर्न सक्दैन । त्यसैले यो कदमले तेलको भाउलाई अस्थायी रुपमा मात्रै टेवा दिन सक्ने विश्लेषण गरिएको छ । एजेन्सीहरु