काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि असोज १८ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असोज २२ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
आफ्नो जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा यस अघि बाँडफाँट गरिसकिएको छ ।
स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये विक्री हुन नसकेको ९ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा थप गरि विक्री गर्न लागिएको छ । यी वाहेक सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ बाँडफाँट गरी १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस