वीरगञ्जमा गठबन्धनको प्रतिबद्धता : ग्रामीण वडामा कन्या विद्यालय र कलेज स्थापना गर्ने

२३ वैशाख, वीरगञ्ज । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले ‘वीरगञ्जमा साझा प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ । ‘जे बोल्छौं, त्यो गर्छौं, त्यति मात्रै बोल्छौं, जति गर्न सक्छौं, ‘सम्भावना’लाई ‘सम्भव’ बनाउने महाअभियान विकसित वीरगञ्जका लागि विवेकपूर्ण मतदान’ भन्ने मुल नाराका साथ गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धन आवद्ध […]

सम्बन्धित सामग्री

म्याग्दीका ८८ ओटा विद्यालय भवन पुनर्निर्माण

असोज ७, म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका इञ्जिनीयर विष्णु रिजालले २०७८ असार मसान्तसम्म ८८ ओटा विद्यालयमा २८२ ओटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए ।  ‘१०५ ओटा विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ ओटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो’, उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ ओटा खानेपानी पुनर्निर्माण सकिएको छ ।’ ३० ओटा दुई कोठे, १० ओटा तीन कोठे, ४८ ओटा चार कोठे भवन पुनर्निर्माण भएको छ ।  ३५ ओटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ ओटा चार कोठे, तीन ओटा तीन कोठे, १० ओटा दुई कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।  गत आवमा २४ ओटा चार कोठे, एउटा तीन कोठे र १० ओटा दुई कोठे भवन निर्माण सकिएका छन् । ३५ शौचालय र २५ ओटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ ओटा भवन, पाँच ओटा शौचालय र दुई ओटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । १३ ओटा चार कोठे, दुई ओटा तीन कोठे र दुई ओटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।  एउटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ ओटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।  आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको हो ।  कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्षातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनर्निर्माणको योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ ।  सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु÷गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको उनको भनाइ छ ।  भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनर्निर्माणका लागि म्याग्दीमा हालसम्म करीब रू. ६० करोड खर्च भएको छ । आव २०७७÷७८ मा पूँजीगत शीर्षकमारू. २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रू. २४ करोड ९९ लाख खर्च भएको एकाइले जानकारी दिएको छ ।  भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदूरको अभाव विद्यालय भवन पुनर्निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् । रासस