विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजी गरेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुश्किलले २५ केजी पाए ।
‘मलको आश गर्दागर्दै तोरी छर्ने समय नै बित्न लाग्यो,’ पराजुलीले भने, ‘बल्ल बल्ल पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरेँ । बाँकी १५ कठ्ठामा छर्न पाइएन ।’ होक्लाबारीकै गजेन्द्र भट्टराईले पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्न नपाएको गुनासो गरे । ‘कृषि सामग्री कम्पनीले दिएन, सीमावर्ती बजारमा पाइने कमसल डीएपी ल्याएर खेती गर्नुको अर्थ नै छैन ।’
कृषि सामग्री कम्पनीले मागेजति डीएपी मल नदिएको गुनासो सम्बन्धित सहकारी संस्थाहरूको छ । ‘एक लटमा मुश्किलले ५० बोरा दिन्छ,’ कम्पनीबाट डीएपी लगेर किसानलाई विक्री गर्ने सहकारी संस्था होक्लाबारीका प्रतिनिधि रवीन्द्र तिवारीले भने, ‘एक लटमा दुईसय बोराको माग हुन्छ । तर सामग्रीले एक चौथाइ परिमाण मात्र उपलब्ध गराएपछि किसानलाई बढीमा २५ केजीमात्र उपलब्ध गराउने गरेका छौं ।
रंगेली आमतोलाका रुद्र भट्टराईको पनि डीएपी मल अभावमा दुई बिघा खेतमा तोरी छर्ने योजना पूरा हुन सकेको छैन । माटो तयारी भएको, तर कहीँ जाँदा पनि मल नपाउँदा तोरी छर्न नपाएको उनको गुनासो छ ।
सुनसरीको बर्जु–४ सीतागञ्जका जितबहादुर खड्काले स्थानीय सहकारी संस्थाले उपलब्ध नगराएपछि सीमावर्ती भारतीय बजारमा उपलब्ध हुने कमसल मल ल्याएर दुई बिघा खेतमा तोरी छरे । ‘माटो तयार गरेर डीएपी मलको पर्खाइमा दुई सातासम्म बसेँ,’ खड्काले भने, ‘नपाएपछि सीमावर्ती बजारमा उपलब्ध हुने कमसल मल ल्याएर तोरी छर्न बाध्य भएँ ।’
बर्जुकै विन्दे साहले पनि तोरी छर्न माटो तयार गरेर सातासम्म डीएपी मल खोजी गर्दा नपाएपछि सीमावर्ती बजारबाट ल्याएर तोरी छरेको बताए । ‘ठूला किसानले मागेजति डीएपी कृषि सामग्रीबाटै ल्याएर तोरी र गहुँ छर्छन्,’ उनले भने ‘साना किसानले नपाउँदा सीमावर्ती बजारमा निर्भर हुन बाध्य छौं ।’
माग अनुसारको आयात हुन नसक्दा तोरीको सिजनलाई डीएपीको अभाव भएको प्रदेश १ कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । ‘प्रदेश १ मा मात्र तोरीका लागि ७–८ हजार टनभन्दा बढी डीएपीको माग छ,’ उनले भने, ‘कृषि सामग्री कम्पनीले ६ हजार ५०० टनमात्र आयात गरेको छ । त्यसमा पनि दुई हजार टन दुई नम्बर प्रदेशमा जान्छ ।’
आयात गरिएको ६ हजार ५०० टनमध्ये १ हजार २०० टनमात्र आइपुुगेको कृषि सामग्री कम्पनी विराटनगरका प्रमुख नवरत्न गौतमले बताए । ‘अहिले आइपुगेको डीएपी मल प्रतिडिलर ५० बोराका दरले वितरण गरिएको छ,’ गौतमले भने, ‘किसानको माग अनुसार उपलब्ध हुन सकेको छैन ।’ मूल्यवृद्धिका कारण आवश्यकता अनुसार डीएपी मल खरीद गर्न नसक्दा अभाव भएको उनको भनाइ छ ।