हाम्रो घर चितवन गीता नगरको दक्षिणमा चुरे पर्वत छ, जुन छिचोलेर माडी पुगिन्छ । हामी सानोमा “को चढ्न सक्छ चुरे, सक्दैन भारे भुरे” भन्दै भाइबहिनीलाई जिस्क्याउँदै दौडिन्थ्यौ । चालिस सालतिर एक दिन बारा जिल्लाको सदरमुकाम कलैयाबाट बोधवनमा धान वालि लगाउन जाँदै गर्दा बाटोमा सिमसिम पानी मात्रै पर्दै थियो । पसाहा खोलामा अचानक ठुलो बाढी आयो । बाढी घटने आसमा हामी अरू बटुवाहरू झैँ किनारामा उभियौँ । मैले खोलाको पानी उठाएर हातमा लिएँ । पानी होइन उर्ली उर्ली पहेँलो लेदो बगिरहेको थियो । लेदोमा ढुङ्गा थिए । बाबु, चुरे त बगेर सिद्धिन्छ, जस्तो छ । धनिराम काकाले गालामा हात राखेर चिन्ता प्रकट गरेको मलाई आजै जस्तो लाग्दछ ।