व्यापारी र उद्योगीले बैंक चलाउँदा आर्थिक संकट : डा. कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगी व्यापारीले बैंक चलाउँदा अहिले आर्थिक संकट गहिरिएको बताएका छन् । विश्वका कुनै पनि विकसित मुलुकमा व्यापारी र उद्योगीले बैंक खोल्न नपाउने उनको भनाइ छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारी र उद्योगीले बैंक सञ्चालन गर्न नहुने बताए । ‘विश्वका विकसित मुलुकमा उद्योगी र व्यापारीले बैंक खोल्न नपाउने नियम छ, नेपालमा भने उद्योगी र व्यापारीले बैंक खोल्न पाउने भएकाले अहिलेको आर्थिक संकट गहिरिएको हो,’ डा. कोइरालाले भने ।  बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेको उनले बताए । बैंकहरूले समेत गरीब र धनीबीचमा विभेद गर्ने गरेकाले गरीबको जीवनस्तर माथि उठ्न नसकेको डा. कोइरालाको भनाइ छ । पूँजीगत बजेट खर्च गर्न नसकेर विकास निर्माणका काम प्रभावित भइरहेको अहिलेको अवस्थामा सरकारले चालू खर्च पनि ऋण काढेर गरिरहेको बताए । सरकारले कर्मचारीलाई तलब खुवाउन पनि एसियाली विकास बैंक र विश्व बैंकसँग ऋण लिएको उनले बताए ।  बैंकहरूले अहिले लगानीयोग्य रकमको अभाव नरहेको बताए पनि गरीबहरूले १० लाख ऋण लिन जाँदा नदिने तर त्यही बैंकले एक अर्ब रुपैयाँ ऋण लिन जानेलाई तत्काल दिने गरेकोउनले बताए ।  कोइरालाले विस्तारै सबै ठिक हुदै जान्छ भनेर सरकारमा बस्नेले भने पनि यो सरकार परिवर्तन नभएसम्म केही कुरा ठिक नहुने बताए । उनले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य कुनै पनि क्षेत्रमा सुशासन कायम हुन नसकेकाले अहिलेको सरकारको नेतृत्व परिवर्तनपछि कुशल नेतृत्वले मात्र मुलुकमा स्थायित्व दिने उल्लेख गरे ।  भ्रष्टाचारीलाई कारबाहीको सट्टा भ्रष्टाचार छोप्न अर्काे ठूलो भ्रष्टाचार सरकारले गरिरहेको आरोप कोइरालाले लगाए । उनले सुनकाण्ड र ललिता निवास प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न पनि गरे । भर्खरै सार्वजनिक भएको एनसेल प्रकरणमा सबैको मिलिभगत रहेको भन्दै नेता कोइरालाले सरकार, कर्मचारी, व्यापारी मिलेर यो प्रकरण भएको तर अब अन्तिममा नाम भने केही व्यापारीको मात्रै आउने र अरु सबै चोखिने काम हुने बताए ।  मुलुकभरका ६ लाख ७७ हजार सटरमध्ये ४० प्रतिशत मात्र खुला रहेको बाँकी बन्द भएको उनले बताए । ‘यो एउटा उदाहरणले पनि मुलुकको आर्थिक अवस्था कस्तो छ र तल्लो वर्ग कसरी प्रताडित भएको छ भन्ने बुझ्न सकिन्छ, यो एउटा इन्डिकेटर हो,’ कोइरालाले भने । अघिल्लो वर्ष उच्च शिक्षाका लागि १ खर्ब २७ अर्ब बाहिरिएको भन्दै उनले मुलुकभित्रका विश्वविद्यालय र कलेजहरूले के गरिरहेका छन् भनेर प्रश्न गरे ।  आर्थिक अवस्था खस्कँदै गएको कारण ग्रामीण क्षेत्रका गृहिणीले एकथरीमात्र तरकारी पकाउन थालेको भन्दै केही दिनपछि दालको सट्टा त्यही एउटा तरकारीमा झोल हालेर भात खानुपर्ने अवस्था आउने उनले बताए । नेतालाई भ्रष्टाचार गर्दा पनि उन्मुक्ति मिलेसम्म मुलुक आर्थिक रूपमा सबल नबन्ने नेता कोइरालाले बताए ।  मुलुक बनाउने सोच भएको नेतृत्वले मात्रै गर्न सक्ने भन्दै उनले कृषि उत्पादन बढाएर त्यसमा आधारित उद्योग स्थापनापछि देशको विकास हुँदै जाने बताए । आत्मनिर्भर नभई मुलुकको अर्थतन्त्र सही दिशामा नजाने उनको कथन छ ।  कार्यक्रममा ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८० भागिरथी श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्राप्त गरेका छन् । 

सम्बन्धित सामग्री

सरकारले जनतामा आशा जगाउन सकेन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका–४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ (पार्टी वडा कार्यलय)को शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे । उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट […]