टाइमकार्डले सेवाग्राहीलाई सहज

डँडेलधुरा । जिल्ला प्रशासन कार्यालय डँडेलधुराले गत सातादेखि शुरू गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो । नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, संघसंस्था नवीकरण, दलित/जनजाति प्रमाणित, मुद्दा पेशी तथा तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको हो । आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागंता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्राहीलाई प्राथमिकता दिनेगरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरिएको प्रजिअ जोशीले बताए । टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेका उनले समयमै सेवा पाएको बताए । टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिने कार्य भइरहेको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए । अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितका महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ । रासस