यात्रुसँग बढी भाडा असुल्ने ७ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

साउन ३, वीरगञ्ज  । यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा लिने सात ओटा सवारी साधन २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कारवाहीमा परेका छन् ।  बाराको पथलैयामा शनिवार राति चेकजाँच गर्दा बढी भाडा लिएको भेटिएपछि भाडा फिर्ता गराइएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।  ती सवारीले यात्रुसँग कुल १ लाख २४ हजार २०० रुपैयाँ बढी भाडा लिएका थिए । तोकिएभन्दा बढी भाडा असुल्ने प्रत्येक बसलाई ५ हजार रुपैयाँका दरले ३५ हजार रुपैयाँ जरीवाना पनि तिराइएको प्रहरी नायव उपरिक्षक जैसवारले बताए ।  जनकपुर, सर्लाही, गौर र बाराका विभिन्न स्थानबाट काठमाडौं र पोखराका लागि यात्रु लिएर हिँडेका बसले ३०० देखि १ हजार रुपैयाँसम्म बढी भाडा लिएको भेटिएको जैसवारले बताए ।  बढी भाडा लिने बा.प्र.००१ ख ०१९०, ना ७ ख २७९०, ग १ ख ८९६९, ना ६ ख ५०६७, ना ८ ख ४१३, ना ६ ख ६९६३ र ना ७ ख ११११ नम्बरका बस कारवाहीमा परेका हुन् । ती बसले लिएको बढी भाडा १८३ जना यात्रुलाई फिर्ता गराइएको छ ।