यतीको जहाज दुर्घटना जाँचबुझ आयोगको म्याद थप

काठमाडौं । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित ‘दुर्घटना जाँच आयोग–२०७९’को म्याद थप गरेको छ । गत माघ १ गते उक्त कम्पनीको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । उक्त दुर्घटनाको जाँचबुझका लागि सरकारले आयोग गठन गरेको थियो । सरकारले ४५ दिनको म्याद दिएर आयोग गठन गरेको थियो । आयोग गठन गरेको २ महीनामा सरकारले पुन: ४५ दिनकै म्याद थपेको छ । मन्त्रिपरिषद्को मंगलवारको बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको जानकारी दिइएको छ । दुर्घटनाको विस्तृत जाँचबुझ गरी दुर्घटनाको कारण पहिचान गरेर यस किसिमको दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्न आयोगलाई कार्यादेश दिइएको छ । अन्तिम प्रतिवेदनका लागि काम भइरहेकाले केही समय आवश्यक परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताए । यो अवधिमा उक्त दुर्घटनाको जाँचबुझका लागि आयोगका अधिकारीहरू सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआइबी)मा पुगेका थिए । सो संस्थासँगको समन्वयमा आयोगले फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । उक्त प्रतिवेदनले फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ‘नाइनएन–एएनसी’ कल साइनको जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर फेदरमा गएको देखाएको थियो । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने विषयमा प्राविधिक पक्षबारे थप अनुसन्धान आयोगले अघि बढाइएको छ ।