गुणस्तरीय विद्युत् दिन उद्योगीको आग्रह

विराटनगर । विनासूचना दैनिक चार पटकभन्दा बढी लाइन जाँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ७ करोडको क्षति भइरहेको भन्दै उद्योगीहरूले गुणस्तरीय विद्युत् दिन आग्रह गरेका छन् । उनीहरूले पूर्वको विद्युत्को अवस्था बुझ्न आएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई विराटनगरमा विद्युत्को गुणस्तर वृद्धिका लागि लिखित सुझाव दिएका छन् । मोरङ व्यापार संघले आठबुँदे सुझाव घिसिङलाई बुझाउँदै नियमित एवं गुणस्तरीय विद्युत् प्रवाह हुने व्यवस्था मिलाउन आग्रह गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रबन्ध प्रमुख कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण प्रदेश १ कार्यालयका निर्देशकलाई सुझावपत्र बुझाएका हुन् । मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रहरूमा ३३ केभीए लाइन जडान रहे तापनि विद्युत् आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित आपूर्तिको समस्याले उद्योग सञ्चालन गर्न कठिनाइ भएको, उत्पादन कटौती गर्न बाध्य भएको, उपकरण र कच्चापदार्थ नोक्सान हुने गरेको अध्यक्ष मुन्दडाले प्रस्तुत गरेका सुझावपत्रमा उल्लेख छ । सोहीकारण करोडौंको नोक्सानी भइरहेको भन्दै गुणस्तर सुधारमा यथाशीघ्र ध्यान दिन आग्रह गरिएको छ । यसैगरी विद्युत् महशुल दर महँगो भएकाले घटाउनुपर्ने माग उद्योगीहरूको छ । त्यसले स्वदेशी उद्योगको संवद्र्धनमा बल पुग्ने सुझाव संघले राखेको छ । सोलारबाट उत्पादित विद्युत्लाई पनि खपतमा ल्याएर सहुलियत दिनुपर्ने, विद्युत्को प्रसारणमा हुने नोक्सानी कम गर्न प्राविधिक सुधार गर्नेतर्फ तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ । स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गर्न मोरङ व्यापार संघले चलाएको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई व्यवहारमा लागू गरी प्रवद्र्धन गर्न पनि आग्रह गरिएको छ । साथै संघले, ठेक्का प्रक्रिया सहज र सरल बनाउनुपर्ने, प्राधिकरणले उपभोक्ताको मिटरबाट नियमित तथ्यांक संकलन गरे पनि छूटको नाममा एकमुष्ट असुल गर्ने परिपाटी बन्द गर्नुपर्ने र मिटर रिडिङमा कर्मचारीको लापरबाही तथा त्रुटिको मार उपभोक्तालाई पर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।