भूपरिवेष्टित मुलुकहरूका लागि सबैभन्दा उत्तम निर्यात विकल्पमा ज्ञानमा आधारित निर्यात व्यापार नै हो । यी व्यापारमध्ये सफ्टवेयरको निर्यात सबैभन्दा उत्तम निर्यात मान्न सकिन्छ । भूपरिवेष्टित मुलुकका पारवहनजन्य बोझका कारण नेपाल यस्ता विकल्पमा जानुपर्छ भन्ने सोच लामो समयदेखि आए तापनि यस क्षेत्रमा अपेक्षित प्रगति प्राप्त हुन सकेको छैन । विगत ४ वर्षयताको तथ्यांक हेर्दा सफ्टवेयरको निर्यात करोडभन्दा माथि उक्लिन सकेको छैन । देशगत रूपमा हेर्दा गत आर्थिक वर्षमा जापानमा मात्र नेपाली सफ्टवेयर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख भएको छ ।
तर, भारी मात्रामा सफ्टवेयर आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा महामारीका कारण यस वस्तुको निर्यातमा ह्रास आयो भने आायत ठूलो मात्रामा भएको पाइन्छ । यसरी आयात हुने सफ्टवेयरमा करीब ९४ प्रतिशत अंश चीनबाट भएको देखिन्छ । दक्षिण कोरिया र भारतबाट पनि केही मात्रामा सफ्टवेयर आयात भएको पाइन्छ । समग्रमा हेर्दा नेपालबाट निर्यात हुने सफ्टवेयरको मात्रा नगण्य रहे तापनि विदेशबाट ठूलो परिमाणमा सफ्टवेयर आयात हुने गरेको छ ।
सफ्टवेयर निर्यात नगण्य हुनु र आयातको व्यापक वृद्धि हुनुले नेपाली सफ्टवेयर क्षेत्रमा केही समस्या रहेको स्वतः पुष्टि गरेको छ । सप्टवेयर क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन स्थापित राष्ट्रिय कम्प्युटर केन्द्रको विघटन भएसँगै यस क्षेत्रमा नेपालले दक्षिण एशियामा नै अब्बल भूमिका खेलिरहेको गतिमा अवरोध उत्पन्न भई दक्ष जनशक्ति उत्पादनमा एकप्रकारको विश्रामको अवस्थाको सृजना भएको थियो । राष्ट्रिय कम्प्युटर केन्द्र र उक्तसँग आबद्ध सहयोगी मित्रराष्ट्रहरू खास गरी संयुक्त राज्य अमेरिकासँगको सहकार्य टुट्न जाँदा नेपालले विश्वकै उत्कृष्ट देशबाट प्राप्त गर्ने ज्ञानको प्रवाह रोकिएको देखिन्छ ।
दोस्रो, यस क्षेत्रका भुक्तभोगीहरूको भनाइअनुसार नेपाली सफ्टवेयर निर्माताहरू दक्षता र सृजनशीलताका दृष्टिले विश्वका कुनै पनि देशका समकक्षीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमतायुक्त भए तापनि नेपालले विशेष पहिचान स्थापित गर्न नसक्दा यस क्षेत्रमा नेपाली विशेषज्ञहरूले नेतृत्वदायी भूमिका खेल्न नसकेको देखिन्छ । सफ्टवेयरका क्षेत्रमा बिडिङ गर्दाको समयमा यस्ता समस्या नेपाली सफ्टवेयर निर्माताहरूले बारम्बार भोगिरहनु परेको छ । नेपाली प्रयोगकर्ताहरू पनि अन्तरराष्ट्रिय जगतमा परीक्षण गरिएका र विश्वका विकसित मुलुकहरूले प्रयोग गरिरहेका सफ्टवेयरहरू प्रयोग गर्न सहज र विश्वसनीय ठान्छन् । नेपाली सफ्टवेयर निर्मातासँग ती सफ्टवेयरभन्दा पनि बढी विश्सनीय गुणहरू उपलब्ध रहे तापनि ब्रान्डिङ आदिका कारण नेपाली सफ्टवेयर कम्पनीहरू ओझेलमा पर्न गएका छन् ।
विश्वका प्रख्यात संस्थाहरूले प्रयोग गरी लामो समयदेखि त्रुटिरहित सम्पादन गरिरहेका यस्ता सफ्टवेयरको साटो नेपालमै बनेका सफ्टवेयरलाई आफ्नो क्षेत्रमा परीक्षणको अवसर दिने जोखिम शायद कुनै व्यावसायिक संघसंस्थारूले लिन सक्छन् । सम्पूर्ण कार्य नेपाली इन्जिनीयरहरूले गर्नुपर्ने तर नामचाहिँ चलनचल्तीका ब्रान्डको नाममा गर्नुपर्ने अनेक उदाहरण छन् ।
नेपाली सफ्टवेयरका प्रयोगकर्ताका अनुभवमा नेपाली सफ्टवेयर निर्माताले अन्तिम संस्करणका परिमार्जित सफ्टवेयर सम्बद्ध ग्राहकलाई उपलब्ध गराउँदा पनि केही न केही कमीकमजोरी दोहोरी रहने समस्या रहेको छ । सफ्टवेयर सृजना गर्दा कोडिङको भाषामा कम्प्युटर इन्जिनीयरहरू पोख्त भए तापनि त्यो सफ्टवेयरले इनपुट लिने तथ्यांक र आउटपुट दिने तथ्यांकको पूर्ण जानकारी नहुँदा दर्जनाैं पटकका पुनः प्रयासहरू फेरि पनि अनन्तकालीन परिमार्जनको दुश्चक्रमा फस्न पुगेका थुप्रै उदाहरण देशभित्र छन् । सफ्टवेयर सिर्जना गर्दा सम्बद्ध क्षेत्रका विषयगत विशेषज्ञहरूबाट लिनुपर्ने परामर्श सेवा लिन सफ्टवेयर निर्माताहरूले कन्जुस्याइँ गर्दा यस्ता समस्याहरू नेपाली सफ्टवेयर क्षेत्रमा दोहोरी रहेका हुन् ।
सफ्टवेयरको बजारसम्म सहज पहुँच उपलब्ध गराउन नसक्दा एवम् सफ्टवेयर सृजनाका देशभित्र उपयुक्त वातावरण निर्माण गर्न नसक्दा यस क्षेत्रमा नेपाललाई प्राप्त अवसरहरू गुमिरहेका छन् ।
सफ्टवेयरका क्षेत्रमा विश्वको बदलिँदो परिवेशसँग मेल खाने अब्बल दर्जाका विशेषज्ञहरू नेपालभित्र उत्पादन हुन सकका छैनन् । उपलब्ध विशेषज्ञहरू पनि आकर्षक रोजगारीका कारण पलायन हुने गरेका छन् । विदेशबाट दीक्षित विशेषज्ञहरूलाई नेपालमा प्राप्त पारिश्रमिकले चित्तै बुझ्दैन । कम्पनीले सफ्टवेयर इन्जिनीयर, प्रोग्रामर तथा परिकल्पनाकारलाई दिने पारिश्रमिक अपेक्षाकृत अतिन्यून भई दिँदा नेपाली इन्जिनीयर र प्रोग्रामरहरूमा कार्यरुचिमा पनि विषम प्रभाव परेको छ । यस्ता प्रवृत्तिले यस क्षेत्रमा आवश्यक पर्ने सृजनाशीलताको विकास हुन सकेको छैन जसलाई सफ्टवेयर निर्माणको मूल आधारका रूपमा लिइने गरिन्छ । यो क्षेत्र भनेको अनुसन्धान प्रधान क्षेत्र पनि हो । अनुसन्धान जस्तो गहन, समय लिने र ठूलो धनराशी र धैर्य चाहिने क्षेत्रमा केवल निजीक्षेत्रको सक्रिय सहभागिता मात्र पर्याप्त हुँदैन । यस्ता अनुसन्धानलगायत यस क्षेत्रका स्टार्टअपलाई सरकारबाट विशेष संरक्षणको व्यवस्था हुन सकेको छैन ।
नेपालको छिमेकी मुलुक भारतले भने इलेक्ट्रोनिक्स तथा कम्प्युटर सफ्टवेयर विभाग तथा इलेक्ट्रोनिक्स तथा कम्प्युटर सफ्टवेयर प्रवर्द्धन परिषद्को संस्थागत व्यवस्था गरी यस क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष र व्यवस्थित जोड दिई रहेको छ । परिणामस्वरूप आर्थिक वर्ष २०२०/२१ मा भारतको सफ्टवेयर निर्यात करीब भारू ८१ खर्ब पुगेको छ । जबकि सन् १९८० को दशकमा कम्प्युटर क्षेत्रमा नेपालको सम्पादन भारतको भन्दा अब्बल थियो ।
उपर्युक्त परिस्थिति, नेपालको आयात र निर्यातको तथ्यांक एवम् भारतको दृष्टान्तलाई समेत ख्याल गरी नेपालले पनि सफ्टवेयर निर्यातलाई विशेष प्राथमिकता दिनु आवश्यक देखिन्छ । भारतमा झैं नेपाल सरकारले पनि यस क्षेत्रको विकासमा सफ्टवेयरको विकासमा शैक्षिक, संस्थागत, उत्प्रेरणात्मक एवम् प्रोत्साहनात्मक व्यवस्था हुन जरुरी छ । अन्य वस्तुजस्तै सफ्टवेयर निकासीमा पनि प्रोत्साहन रकमको व्यवस्था हुन जरुरी छ । यस क्षेत्रका स्टार्ट अफ नवसृजनाहरूलाई प्रोत्साहन दिन विशेष कोषहरूको व्यवस्था हुन पनि जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष यस क्षेत्रको लागत न्यूनीकरण र प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि सफ्टवेयर क्षेत्रलाई अनन्तकालीन करमुक्ति तथा शून्य दरमा ऋण सुविधाजस्ता व्यवस्था पनि हुन जरुरी छ । यसै गरी सम्भव भएका क्षेत्रमा नेपालमा विकसित सफ्टवेयर प्रयोग गर्ने नीति निजी र सरकारी दुवै क्षेत्रले अंगीकार गर्नु पनि आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष, नेपाली सफ्टवेयर विकासक व्यवसायीहरूले पनि आफू आफ्नो सेवा, पेशा र उत्पादनको गुणस्तरका बारेमा सचेत हुन पनि जरुरी छ । सफ्टवेयर विकास गर्दा र प्रोग्रामिङको भाषा लेख्नुपूर्व चाहिने अनुसन्धान तथा विषयगत विशेषज्ञ सेवाका सम्बन्धमा भइरहेको लापरबाही र कन्जुस्याइँलाई नेपाली निर्माताहरूले पूर्णतया त्याग गर्ने बानी बसाल्नुपर्छ । उपर्युक्त व्यवस्था गर्ने हो भने नेपाल पनि चाँडै नि सफ्टवेयरमा आत्मनिर्भर हुने र यसको निर्यातको महत्त्वपूर्ण देशका रूपमा देखा पर्ने निश्चित छ । नेपालमा सफ्टवेयरको बढ्दो प्रयोग, आयातको अर्ब आँकडाको बजार र सफ्टवेयरको विशाल विश्वबजारलाई ध्यान दिँदा नेपालमा यसको ठूलो सम्भावना रहेको छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।