पाँच दिन मदिरा कारोबार निषेध

मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह मन्त्रालय (निर्वाचन सेल) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।