भारतमा ४० हजारभन्दा बढी तलब भएका पुरुषका श्रीमती पनि जागिरे !

नयाँ दिल्ली (भारत) । भारतमा मासिक तलब ४० हजार भारुभन्दा बढी भएका पुरुषका श्रीमती पनि जागिरे हुने सम्भावना उच्च रहेको एक अध्ययनले देखाएको छ । अजिम प्रेमजी युनिभर्सिटीले पिरियोडिक लेबर फोर्स सर्भे (पीएलएफएस)को तथ्या‌ंक अध्ययन गरेर तयार पारेको ‘स्टेट अफ वर्किङ इन्डिया २०२३’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । ‘मासिक ४० हजार भारुभन्दा बढी कमाउने पुरुष प्रायः शिक्षित हुने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘शिक्षित पुरुषले विवाहको लागि शिक्षित महिला नै रोज्ने गरेको पाइन्छ । र, शिक्षित महिलाहरूको प्राथमिकता राम्रो रोजगारीमा हुन्छ । साथै उनीहरूलाई रोजगारीको लागि राम्रा अवसरहरू पनि हुन्छन् । त्यसैले त्यस्ता महिलाहरूले जागिर गर्ने सम्भावना उच्च हुन्छ ।’  युनिभर्सिटीले महिला र पुरुषको १५ वर्षको उमेरदेखि व्यावसायिक र जीवनको घटनाहरू अध्ययन गरेको थियो । अध्ययनअनुसार विवाहअगाडि २६ प्रतिशत महिलाहरू मात्रै श्रम बजारमा रहेको पाइएको छ । तर, विवाह गरेको ५ वर्षभित्र भने श्रम बजारमा महिलाहरूको सहभागिता बढेर ४९ प्रतिशतसम्म पुगेको पाइएको छ । अध्ययनका अनुसार यस्तो प्रायः कृषि क्षेत्रमा भएको पाइन्छ । त्यसैले अनौपचारिक अर्थव्यवस्थामा विवाहपछि महिलाले रोजगारी गुमाउने भन्दा पनि रोजगारी पाउने सम्भावना बढी भएको देखिन्छ । अध्ययनमा सासू (श्रीमानको आमा) जागिरे भएमा महिलाको औपचारिक जागिर गर्ने सम्भावना बढी रहेको देखाइएको छ । अध्ययन प्रतिवेदनका अनुसार सहरी क्षेत्रमा सासू जागिरे भएका महिलाले जागिर गर्ने सम्भावना ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ५० प्रतिशत रहेको उल्लेख छ । एजेन्सी