बेलायतको मुद्रास्फीति १० वर्षकै उचाईमा

मंसिर २९, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति नोभेम्बरमा बढेर १० वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।  नोभेम्बरसम्मको १२ महीनामा उपभोक्ता मूल्य सूचक बढेर ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । अक्टोबरमा सीपीआई ४ दशमलव २ प्रतिशत थियो । रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले नोभेम्बरमा मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत रहने बताएका थिए । सन् २०२२ को बसन्तमा मुद्रास्फीति ५ प्रतिशतमा उक्लिने बैंक अफ इंगल्यान्ड (बीओई) को प्रक्षेपण थियो ।  सन् २०२३ को अन्त्यमा यो घटेर २ प्रतिशतको लक्ष्यमा आउने बताइएको थियो । मासिक आधारमा भने अक्टोबरबाट नोभेम्बरमा मुद्रास्फीति शून्य दशमलव २ प्रतिशतले बढेको छ । यो दर शून्य दशमलव ४ प्रतिशत रहने रोयटर्सको सर्वेक्षण बताइएको थियो ।  कोर सीपीआई भने गत वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढेको छ । रोयटर्सले यो दर ३ दशमलव ७ प्रतिशत रहने बताएको थियो ।  मौद्रिक नीति कसिलो बनाउने कि नबनाउने भन्ने निर्णय गर्न बीओईको नीतिगत बैठक बिहीवार बस्दैछ । एजेन्सी  

सम्बन्धित सामग्री

बेलायतमा महँगी घटेर १०.५ प्रतिशतमा झर्यो, खानेकुराको भाउ बढ्ने क्रम भने रोकिएन

काठमाडौं । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास गरिरहेको बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)लाई केही राहत मिल्ने देखिन्छ । तर खाद्यान्न र पेय पदार्थको भाउ सन् १९७७ यताकै तीव्र गतिमा बढेकोले घर परिवार माथिको दबाब उग्र छ । नोभेम्बरमा १० दशमलव ७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति गएको महीना १० दशमलव ५ प्रतिशतमा ओर्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । योसँगै लगातार दोस्रो महीना पनि महँगी घटेको छ । तर यो अझैं  पनि ४० वर्षकै उचाईमा छ ।  समीक्षा अवधिमा मुद्रास्फीतिमा आएको कमी अर्थशास्त्रीहरुले गरेको अनुमान अनुसार कै हो । एक वर्ष अघिको तुलनामा खानेकुरा र गैर–अल्कोहलिक पेय पदार्थको भाउ १६ दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि सन् १९७७ यताकै उच्च हो । सो अवधिमा अन्डा, दूध र चिजको भाउमा आएको वृद्धिक कारण समग्रम खाद्यान्नको भाउ बढेको छ । समीक्षा अवधिमा चिनि, जाम, मह र चकलेटको साथै हलुका पेय र जुसको भाउ पनि बढेको छ । तर पाउरोटी र अन्नको मूल्य वृद्धि भने सुस्त भएको छ ।  नोभेम्बरमा नै बीओईले हेडलाइन सीपीआई अक्टोबरको ११ दशमलव १ प्रतिशतबाट घटेर यो वर्षको अन्त्यसम्ममा ५ प्रतिशतमा आउने बताएको थियो । रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी बढ्दा बेलायतमा पनि करोडौं मानिसहरुको लागि जीवनयापन धौं धौं बनेको छ ।  बीओईले यो वर्ष महँगी घट्ने प्रक्षेपण  गरेको भएपनि नीतिनिर्मातहरुले भने कसिलो श्रम बजार र अन्य कारकहरुतर्फ औंल्याउँदै महँगी उभोतिर लाग्ने दबाब निरन्तर रहने चेतावनी दिएका छन् । बीओईले फेब्रुअरी ३ मा ब्याजदर साढे ३ प्रतिशतबाट बढाएर ४ प्रतिशतमा पुर्याउने अनुमान गरिएको छ । यो डेटा सार्वजनिक भएपछि डलरको तुलनामा स्टर्लिङको भाउ बढेको थियो । डिसेम्बरमा बेलायतको मुद्रस्फीति अमेरिका र बेलायतको भन्दा कम हो । सो अवधिमा अमेरिकामा मुद्रास्फीति साढे ६ प्रतिशत थियो भने जर्मनीमा ९ दशमलव ६ प्रतिशत । रुसले युक्रेनमा आक्रमण गरेलगत्तैको तुलनामा अहिले प्राकृतिक ग्यासको भाउ घटेको छ । तर पनि यो २०२१ को मध्यतिरको भन्दा कयौं गुणा बढी छ । यसको प्रभाव समग्र अर्थतन्त्रभर पोखिने क्रम जारी छ । डिसेम्बरमा कोर सीपीआई भने ६ दशमलव ३ प्रतिशतमा यथावत् छ । कोर सीपीआईमा ऊर्जा, खाद्यान्न, रक्सी र सूर्तिको मूल्यलाई समावेश गरिएको हुन्न । कोर सीपीआई गत महीना ६ दशमलव २ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । सेवा क्षेत्रमा पनि महँगी सन् १९९२ का मार्चयताकै उच्च अर्थात् ६ दशमलव ८ प्रतिशत छ ।  एजेन्सी