गुलाबमा परनिर्भरता : भ्यालेन्टाइन डेमा ९३ % माग आयातबाट धानिँदै, ६ महीनामा २७० किलो आयात

काठमाडौं । भ्यालेन्टाइन डे (प्रणय दिवस)मा गुलाबको माग आयातबाटै धान्नुपर्ने देखिएको छ । यो वर्ष भ्यालेन्टाइन डेमा २ लाख ८० हजार पिस गुलाब खपत हुने फ्लोरिकल्चर एशोसियशन अफ नेपालको अनुमान छ । उक्त अनुमान अनुसार माग भए आयातबाट २ लाख ६० हजार पिस र आन्तरिक उत्पादनबाट २० हजार पिस गुलाबको माग पूर्ति गरिने एशोसिएशनले जनाएको छ ।  गत वर्ष भने भ्यालेन्टाइन डेमा २ लाख ७ हजार स्टिक गुलाब खपत भएको थियो । हरेक वर्ष फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ ।  स्वदेशी उत्पादनले माग नधानिएपछि यो वर्ष पनि भारतबाटै गुलाब आयात गर्नुपरेकोे एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताए । यो वर्ष नेपालमा खपत हुने गुलाबको ९३ प्रतिशत भारतबाट आयात हुने उनको अनुमान छ । बाँकी ७ प्रतिशत भने स्वदेशी उत्पादनले धानिनेछ ।  गत वर्ष भने कूल मागको १० प्रतिशत माग स्वेदशी उत्पादनले धानेको थियो । अर्थात् गत वर्षको तुलनामा यो वर्ष स्वेदशको उत्पादन ३ प्रतिशत घटेको छ ।  ६ महीनामा १ लाखको गुलाब आयात  चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले १ लाख रुपैयाँ बराबरको गुलाब आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा नेपालमा २७० किलोग्राम गुलाब भित्रिएको छ ।  मौसमका कारण पर्याप्त उत्पादन नहुँदा हरेक वर्ष भ्यालेन्टाइन डेमा गुलाब आयात गर्नुपरेको उनले बताए । ‘जाडोमा गुलाब फुल्न तापक्रम पुग्दैन । तापक्रम बढाउनका लागि हामीसँग उच्च प्रविधि छैन । त्यसैले भ्यालेन्टाइन डेमा जहिले आयात गर्नुपर्ने अवस्था छ,’ उनले भने ।  ‘अपर्याप्त लगानी र किसानले अनुदान नपाउँदा बढेन उत्पादन’  उत्पादनमा पर्याप्त लगानी नहुँदा र किसानले अनुदान नपाउँदा उत्पादन बढ्न नसकेको उनको भनाइ छ । तर, समग्र फूलमा नेपालमा आत्मनिर्भरजस्तै छ । नेपालमा फूलको कूल मागको ९० प्रतिशत उत्पादन हुने गरेको अध्यक्ष तामाङको भनाइ छ । उनका अनुसार अघिल्लो वर्ष नेपालबाट एक करोड रुपैयाँको फूल निर्यात भएको थियो ।  नेपालमा काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुर लगायतका जिल्लामा गुलाबको व्यावसायिक उत्पादन हुने गरेको छ ।  फूल व्यापारीलाई चटारो  काठमाडौं, थापाथलीमा फूल पसल चलाउँदै आएका व्यापारी प्रवीण यादवलाई अहिले भ्याइनभ्याइ छ । फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे (प्रणय दिवस) नजिकिएसँगै उनलाई कामको चटारो बढेको हो । सोमवार पसलमा पुग्दा उनी फूलको बुक्या बनाउँदै थिए ।  उनी मात्रै होइन, भ्यालेन्टाइन डे नजिकिएसँगै अहिले फूल व्यापारीलाई भ्याइनभ्याइ छ । भ्यालेन्टाइन डे आउन अब ७ दिन मात्रै बाँकी छ । यद्यपि भ्यालेन्टाइन सप्ताह भने शुरु भइसकेको छ, जसअन्तर्गत आज ‘रोज डे’ मनाइँदैछ ।  रोज डेदेखि भ्यालेन्टाइन डेसम्म गुलाबको माग बढ्ने गरेको व्यापारीहरू बताउँछन् । थापाथलीका फूल व्यापारी यादव अहिले दैनिक १०० देखि २०० सम्म स्टिक गुलाब विक्री गरिरहेको बताउँछन् ।  उनी गुलाबसँगै अन्य फूल पनि विक्री गर्छन् । ‘पहिला पहिला यो दिन (भ्यालेन्टाइन डे) मात्र विक्री हुने फूल अहिले वर्षैभर हुन्छ । झन् विवाहको सिजनमा त अझै बढी विक्री हुने गरेको छ,’ उनले भने । उनले प्रतिस्टिक गुलाब १२० देखि १४० रुपैयाँसम्ममा विक्री गरिरहेको बताए ।