जापानमा आएको कोभिड विरोधी खोपमा भेटियो स्टेनलेस स्टिलको कण

भदौ १७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकले जापानमा स्पेनी कारखानामा तयार पारेर पठाएको कोरोना भाइरस विरोधी खोपमा भेटिएको बाह्य वस्तु स्टेनलेस स्टिलको कण भएको बताइएको छ ।  यसले खोप लगाउने व्यक्तिको सुरक्षामा ठूलो जोखिम उत्पन्न नगर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ  छ । खोपका झण्डै चार दर्जन भाइलमा बाह्य पदार्थ भेटिएपछि जापानले लाखौं मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो ।  प्रयोगमा रोक लगाएको ब्याचको खोप लगाएपछि दुई जनाको मृत्यु भएको घटनाको पनि अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् । अहिलेसम्म ती दुईको मृत्युको कारण अज्ञात रहेको बताइएको छ ।  प्रयोगमा रोक लगाइएको तीन मध्ये एउटा लटको खोपमा कारखानाको प्रडक्शन लाइनमै त्रुटी भेटिएको एक संयुक्त विज्ञप्तिमा मोडेर्ना र यसको जापानी साझेदार ताकेदा फर्मास्युटिकल्सले बताएको छ । भाइलमा स्टेनलेस स्टिलको कणहरु भएको र यसले बिरामीको सुरक्षामा खासै जोखिम उत्पन्न नगर्ने विज्ञप्तिमा भनिएको छ ।  यसले खोपको लाभ र जोखिमलाई प्रतिकूल रुपमा प्रभाव नपार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सुई लगाउँदा खोपसँगै पाखुराभित्र जाने यी साना आकारको धातुको करणले सो ठाउँमा असर गर्ने तर कणहरु त्यहाँबाट अन्यत्र नजाने बताइएको छ । स्टेनलेस स्टिल नियमित रुपमा मुटुका भल्भ, जोर्नीको रिप्लेशमेन्ट अन्यत्र पनि प्रयोग गरिने र खोपमा पाइएको कणले स्वास्थ्य जोखिम नबढाउने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।  प्रभावित खोप लगाएपछि मृत्यु भएको घटनाको खोपसँग सम्बन्ध नभएको र यो संयोग हुन सक्ने मोडेर्नाको भनाइ छ । कम्पनीले पनि मृत्युबारे अनुसन्धान भइरहेको छ । मोडेर्नाको तीन लटको खोपमा बाह्य वस्तु भेटिएपछि गत हप्ता जापानले ती लटका १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो । एजेन्सी