काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०–२० नामक सामूहिक लगानी कोष योजनाको इकाई सूचीकृत भएको छ ।
फण्डको १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । अब फण्डको इकाई बिहीवारबाट कारोबार गर्न सकिने छ ।
क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्डअन्तर्गत संचालन हुने गरी हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो । यस योजनाको आकार १ अर्ब रहेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्कासन गरेको हो ।
यस 'हिमालयन ८०–२०' नामक योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरूलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।