असोज २३, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ ।
कम्पनीले शनिवार एक सूचना जारी गर्दै कम्पनीको २४औं वार्षिक साधारण सभा असोज २४ गते आफ्नै सभाकक्ष, ट्रेड टावर, थापाथलीमा गर्ने भनेकोमा विविध कारणवस उक्त स्थानमा हुन नसम्ने जानकारी दिएको छ ।
अब उक्त सभा होटल ल्याण्डमार्क, दरवारमार्गमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा आसेज १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।