साउन १२, काठमाडौं । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव २०७८/ ७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो ।
आव २०७७/ ७८ मा श्रमिकले प्रतिदिन ७५० रुपैयाँ ज्याला पाउँदै आएकामा अब भने ७९० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै फोहर/ ढल सफा गर्ने कामदारको हकमा १ हजार ७० रुपैयाँबाट १ हजार १२५ रुपैयाँ ज्याला कायम गरिएको छ ।
श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/ ७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको बताइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको जानकारी दिए ।
उनका अनुसार विभिन्न ५४ ओटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो । नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ ।
प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो । यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ । हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ ।
पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ । मेसिन औजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ ।
निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ ।
निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बतएको छ ।
यस्तो छ दर
प्राप्त विवरणानुसार श्रमिकले ७५० रुपैयाँ प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा १ हजार ७० रुपैयाँ बाट १ हजार १२५ रुपैयाँ ज्याला कायम गरिएको छ ।
दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन १ हजार ३० रुपैयाँबाट एक हजार ८० रुपैयाँ पुर्याइएको छ । अर्धदक्ष उक्त कामदारको हकमा भने ८५४ रुपैयाँबाट बढाएर ८९० रुपैयाँ पुर्याइएको छ । सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा ७५० रुपैयाँबाट ७९० रुपैयाँ पु¥याइएको छ ।
यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने ६९० रुपैयाँबाट ७२५ रुपैयाँ पुर्याइएको छ । माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको ६३० रुपैयाँबाट ६६० रुपैयाँ बनाइएको छ । सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर २१ दशमलव ५० रुपैयाँ बाट २३ रुपैयाँ पुर्याइएको छ । भरिया (प्रति ४० किलोसम्म) का लागि प्रतिदिन ७८५ रुपैयाँबाट ८२५ रुपैयाँ पुर्याइएको छ ।
स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको बताएको छ । जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ रुपैयाँ पु¥याइएको छ । यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौं महानगरपालिका भित्र यसअघि कै १६ हजार २०० रुपैयाँ कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको १४ हजार ५४० रुपैयाँ कायम छ ।
यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ । ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ । रासस