अर्थतन्त्रको संकट निकास कसरी ?

कोरोना महामारीले अवरुद्ध माग र आपूर्ति स्वाभाविक लयमा फर्किंदा अहिले अर्थतन्त्रमा त्यसको दबाब देखिएको छ । आय, उत्पादन र आपूर्ति शृंखला बिथोलिँदा त्यसको प्रत्यक्ष असर मूल्य र पूँजी व्यवस्थापनमा पर्ने नै भयो । यो वैश्विक समस्याको असरबाट नेपाल अछुतो रहन सक्ने कुरा पनि भएन । बा⋲य क्षेत्रमा दबाब बढेपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहनको नीति लिएको छ । यसले चौतर्फी आशंका र एक प्रकारको त्रास सृजना गरेको छ । शुरूमा ४७ वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था राखिएकोमा अहिले ३ सय वस्तुका लागि प्रतीतपत्र नखोल्न मौखिक रोक लगाएका समाचार आएका छन् । वाणिज्य बैंकहरूले त्यस्ता वस्तुका लागि प्रतीतपत्र खोल्न छाडेका छन् । यसले एकातिर व्यापारमा चरम अन्योल उत्पन्न गरेको छ भने अर्कातिर बजारमा त्यस्ता वस्तुको कृत्रिम अभाव शुरू भइसकेको छ । यसले मूल्य बढ्ने र त्यसले अन्ततः अर्थतन्त्रमै आघात पुर्‍याउने देखिन्छ । कहिले अन्धाधुन्ध आयात त कहिले नियन्त्रणका नाममा अन्धाधुन्ध रोकावटको तरीकाले अर्थतन्त्रमा गम्भीर दुर्घटनालाई निम्तो दिइरहेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलमा भएको मूल्यवृद्धि, डलरको भाउ बढ्नु, बढ्दो पारवहन खर्चलगायत कारण व्यापारघाटा तीव्र रूपमा बढेको छ । गत असारमा १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा माघमा ११ खर्ब ७३ अर्ब २ करोडमा सीमित भएको छ । अहिले सञ्चितिमा रहेको विदेशी मुद्राले ६ महीनाको आयात धान्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूले बताउने गरेका छन् । उनीहरूको कुरा पत्याउने हो भने अहिले आत्तिनुपर्ने अवस्था छैन । सतर्कमात्र हुन भनिएको हो । तर, बजार अवस्था हेर्दा यस्तो लाग्छ, नेपाल श्रीलंकाकै पथमा अगाडि बढिसक्यो । सरकार यसमा तत्काल चनाखो नहुने हो भने ठूलो आर्थिक विपत्तिलाई संकेत गरिरहेको छ । कोरोना महामारीको दोस्रो लहर मत्थर भएसँगै आयात बढेको थियो । यससँगै अर्थतन्त्रमा समस्या देखिन थालेको हो । कोरोनाका कारण रोकिएको आयात एकैपटक ⋲वात्तै बढ्दा कर्जाको माग बढ्यो । यहीबीचमा वैदेशिक रोजगारीबाट आउने विप्रेषणको आकार पनि घट्दै गयो । आउने रकम घट्दै जाने र आयातका लागि रकम बाहिरिने क्रम बढेपछि तरलतामा स्वाभाविक चाप पर्ने नै भयो । आयातमा गएको अधिकांश रकम विलासी वस्तु र दैनिक उपभोग्य सामानको खरीदमा खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाटै आयातमा कडाइ गरे पनि यसको प्रभाव देखिएको छैन । आन्तरिक उत्पादनलाई बलियो नबनाई आयात रोक्नु भनेको अभाव र यसको आडमा कालोबजारीलाई प्रवर्द्धन गर्नु हो । सरकारले विलासी वस्तुको आयात रोक्न खोजेको हो भने त्यस्ता वस्तुको स्पष्ट सूची तयार पारेर सार्वजनिक गर्नुपर्छ । सरकारले आन्तरिक उत्पादनलाई प्रश्रय दिनुको सट्टा आयातबाट आएको राजस्वको भरमा देश चलाउन खोज्नुको परिणाम नै अहिलेको अवस्था हो । भन्सारमा छेको हालेर कर असुल्न पाएसम्म स्वदेशी उत्पादन, रोजगारी र आय आर्जनका उपाय ओझेलमा पारियो । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनको तुलनामा बाहिरबाट कच्चा पदार्थ ल्याएर हुने उत्पादनले लाभ दिन सक्दैन भन्ने सामान्य ज्ञानलाई पनि सरकारी नीतिले आत्मसात् गर्न सकेको देखिएन । हामी उपभोगमा यतिसम्म परनिर्भर भएछौं कि, आज आफ्नै खेतबारीमा उत्पादन हुन सक्ने खाद्यान्न, तरकारी र फलफूल आयातको रकम कुल आयातको करीब एक तिहाइ पुगेको छ । सबल अर्थतन्त्रको उद्देश्यलाई सरकारले सधैं उपेक्षा गर्दै आयो, परिणाम अहिले सतहमा प्रकट भइरहेको छ । कतिपयले यसलाई श्रीलंकाको अवस्थासित तुलना गर्न थालिसकेका छन् । सरकारले कहिल्यै पनि अर्थतन्त्र सुधारमा दीर्घकालीन रणनीति बनाएन । कुनै पनि समस्याको टालटुले समाधान खोज्ने अभ्यास समस्याको कडी हो । तरलता संकट अहिलेको समस्या होइन । करीब १ दशकदेखि यो समस्या बारम्बार दोहोरिँदै आएको छ । सरकारको पूँजीगत खर्च क्षमतामा सुधार नहुँदा तरलताको समस्या आएको भनिन्छ । भलै, यो मात्र कारण नहोला । तर, सरकार न आफ्नो खर्च गर्ने क्षमतालाई सुधार्छ, न समाधानका अन्य स्थायी औजारको खोजी गर्दछ । अहिले कोरोना महामारीमा अवरुद्ध भएको बजारले गति समातेपछि तरलतामा थप चाप परेकोमात्र हो । शुरुआतमै समस्याको उपचार गर्न सकेको भए अहिले यति अत्तालिनुपर्ने थिएन । अहिले आएर विदेशी बैंकबाट ऋण लिनेसम्मका कुराहरू आइरहेका छन् । सरकार अहिले पनि सजग भएर नीति निर्माण गर्नुको सट्टा अन्धाधुन्ध आयात नियन्त्रण गरेर त्रास निर्माण गरिरहेको छ । देशको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने अर्थ मन्त्रालय, राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको बीचमा समन्वय होइन, प्रतिस्पर्धीजस्तो सम्बन्ध देखिएको छ । यसले समस्यालाई झन चर्काउने काम गरेको छ । सरोकारका निकायले एउटै दृष्टिकोण बनाएर सहकार्य गर्नुपर्छ । सरकार अहिले पनि बाह्य क्षेत्र दबाब कम गर्न आयात नियन्त्रणमै एकाहोरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम हुन नदिन आयातमा नियन्त्रण पहिलो प्राथमिकता रहेको निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या र चुनौती तथा सुधारका उपाय नामक अध्ययनले यस्तो निचोड निकालेको हो । तर, यसले बढ्ने मूल्य र आम जीवनमा पर्ने असरसँग कसरी सामना गर्ने भन्ने कुनै योजना छैन । यतिसम्म कि, सरकार पेट्रोलियम पदार्थको आयातका लागि पैसा दिन नसक्ने अवस्थालाई संकेत गरिरहेको छ । इन्धन आयात रोक्ने होइन, प्रतिस्थापनको उपायमा जानुपर्ने हो । जलविद्युत्को खपत बढाएर यो सम्भव छ । तर, नेपालको जलविद्युत् विक्री गरे खर्बौं कमाउने सपनाको तानबना बुन्दै सरकार देशका उत्पादन केन्द्रमा अघोषित लोडशेडिङ गरिरहेको छ । अहिले हामीलाई विद्युत् निकासी आवश्यक छैन, विद्युत्मा पूर्ण आत्मनिर्भर हुन र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि पनि हामीले ठूलो परिमाणमा विद्युत् खपत गर्नुपर्ने हुन्छ । बरु, सरकारले आयात रोक्न चाहेकै हो भने आयातित इन्धनबाट चल्ने महँगा गाडीको आयातमा कडाइ गरोस् । विद्युतीय सवारीसाधनलाई सस्तो बनाउने नीतिगत व्यवस्था गरोस् । भन्सार महसुलको अन्तरको फाइदा उठाउन नेपाल भित्रिएर भारततिर अवैध रूपमा जाने केराउ, मरीच, छोकडा, सुपारीजस्ता वस्तुको आयात रोक्न सकिन्छ । सुन आयातमा कडाइमात्र होइन, आयात रोके पनि फरक पर्दैन । तर, जनतालाई दैनन्दिन आवश्यक पर्ने उपभोग्य वस्तुको आयात रोकेर अराजकता निम्त्याउनु घाउमाथि नुनचुक दल्नुजस्तै हो । नाममात्रको निकासी व्यापारको पृष्ठभूमिमा विदेशी मुद्रा आर्जनको माध्यम भनेको विप्रेषण नै बन्न पुगेको छ । यस्तो रकमलाई कसरी वैध माध्यमबाट भित्र्याउने ? यसमा तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक छ । एक समय अमेरिकी डलरको मूल्य सामान्य सटहीभन्दा आयातका लागि बढी थियो । यो संकटको समयमा बैंकिङ माध्यमबाट विदेशी मुद्रा पठाउनेलाई प्रतिडलर एक निश्चित रकम प्रोत्साहन दिन सकिन्छ । र, आयातका लागि दिने डलरमा यस्तो रकम जोडेर लिँदा बस्तुको मूल्य केही बढे पनि बजारमा कम्तीमा अभावको नाममा अराजकता त हुँदैन । यसै पनि डलरको अनधिकृत बजारमा प्रतिडलर मूल्य ४/५ रुपैयाँ बढी नै हुने अनुभवीहरू बताउँछन् । बेलाबेलामा उठ्ने गरेको सम्पत्ति अभिलेखीकरणको विषयलाई पनि यो समस्याको समाधानमा उपयोग गर्न सकिन्छ । एक निश्चित मापदण्ड तोकेर सम्पत्ति अभिलेखीकरण गर्दा अहिलेको आर्थिक दबाब समाधान सहज हुन सक्छ । हामीलाई थाहा छ, यो समस्या आपूर्तिमा चरम परनिर्भरताको परिणाम हो । तर, आन्तरिक उत्पादन अभिवृद्धिको योजना छैन । हामीले कस्ता बस्तु स्वदेशमै उत्पादन सक्छौं र कस्ता वस्तुको आयात गर्ने भन्ने स्पष्ट खाका छैन । कहिले अन्धाधुन्ध आयात त कहिले नियन्त्रणका नाममा अन्धाधुन्ध रोकावटको तरीकाले अर्थतन्त्रमा गम्भीर दुर्घटनालाई निम्तो दिइरहेको छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

सरकारले निजीक्षेत्रका जायज एजेण्डा पनि सम्बोधन गरेन

अनिलकुमार अग्रवाल वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष हुन् । लामो समयदेखि संघका विभिन्न जिम्मेवारीमा रहेर निजीक्षेत्रका सरोकारहरू उठाउँदै आएका अग्रवाल संघको ४७औं साधारणसभाबाट अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । निजीक्षेत्रले नेतृत्व गरेको अर्थतन्त्रले मात्रै देशमा आर्थिक समृद्धि र राजनीतिक स्थिरताको आधार निर्माण गर्न सक्ने उनी बताउँछन् । अहिले उद्योग व्यापार अत्यन्त कठिन अवस्थाबाट गुज्रिएको छ । यस्तोमा सरकारले लचिलो नीति लिएर उद्योग व्यापार धराशयी हुनबाट जोगाउनुपर्नेमा त्यसको प्रत्याभूति हुन नसकेकोमा उनी चिन्तित छन् । प्रस्तुत छ, आगामी २ वर्षका लागि संघको नेतृत्वमा पुगेका अग्रवालसँग बारा–पर्सा औद्योगिक क्षेत्रको उद्योग व्यवसाय तथा समग्र आर्थिक क्षेत्रको अवस्थाबारे आर्थिक अभियानले गरेको कुराकानीको सार : आफूलाई वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको रूपमा पाउँदा कस्तो महसूस भइरहेको छ ? वीरगञ्ज उद्योग वाणिज्य संघ बारा र पर्साका उद्योगी व्यापारीको प्रतिनिधिमूलक साझा संस्था हो । तर, यसले बारा–पर्सामा उद्योग व्यापार प्रवर्द्धनको विषय मात्र उठाउँदैन । यो संस्था समग्र अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्नेमा चिन्तनशील र सक्रिय रहँदै आएको छ । देशकै प्रमुख नाका र औद्योगिक तथा व्यापारिक केन्द्रमा रहनुका कारण यसका सरोकारहरू राष्ट्रिय अर्थव्यवस्थासँग जोडिएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको बेग्लै गरिमा छ । यस्तो संस्थाको अध्यक्षको रूपमा आफूलाई पाउँदा पक्कै पनि गौरवको अनुभूति भएको छ । यस क्षेत्रका उद्योगी व्यापारी साथीहरूले मलाई विश्वास गरेर संघको नेतृत्वमा पुर्‍याउनुभएको छ । यो मेरा लागि अत्यन्त खुशीको कुरा हो । यतिमात्र होइन, यस क्षेत्र र समग्र आर्थिक सरोकारमा उदाहरणीय काम गरेर देखाउने मौका पनि हो भन्ने लागेको छ । अर्थतन्त्रको संकट सामनाका लागि सरकारको जुन खालको तयारी वा नीति हुनुपर्ने हो, त्यो देखिएन । अहिले उद्योग व्यापार र समग्र अर्थतन्त्रबारे नकारात्मक र निराशाका कुरा मात्र बढी सुनिएको छ । अर्थतन्त्र संकट उन्मुख भएकै हो ? खासगरी कोरोना महामारीयता विश्वकै अर्थतन्त्र समस्यामा छ । उद्योग व्यापारमा मन्दी देखिएको छ । त्यसमाथि नेपालको अर्थतन्त्र अरूमाथि आश्रित छ । उत्पादन छैन, आयातको भरमा आपूर्ति चलेको छ । अहिले ठूला भनिएका अर्थतन्त्र पनि समस्यामा परेका छन् भने हामीजस्तो सानो र अरूमा अति निर्भर अर्थतन्त्र सहज अवस्थामा हुने कुरै भएन । छिमेकी मुलुक श्रीलंकाको अर्थतन्त्र ढल्यो । पाकिस्तानमा पनि आर्थिक संकट चुलिएको सुनिएको छ । चारैतिर संकटका कुरा आइरहँदा हामीकहाँ यसको सामनाका लागि जुन खालको तयारी हुनुपर्ने हो वा जस्तो नीति लिनुपर्ने हो, त्यसमा सरकार उदासीन देखिएको छ । अहिले उद्योगी र व्यापारी निरुत्साहित भएका छन् । बैंकका नयाँ नयाँ नियम र निर्देशनको आतंक छ । चर्को ब्याजदरले उद्योग व्यापारको लागत बढेको छ । प्रतिस्पर्धी क्षमता शिथिल बन्न पुगेको छ । रियल इस्टेट, शेयर बजार, उद्योग र व्यायार धराशयी हुने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सरकार र निजीक्षेत्रको सहकार्यमा निकास खोजिनुपर्ने हो । तर, सरकारले निजीक्षेत्रका जायज कुरा पनि सुनिरहेको छैन । उद्योग र व्यापार धराशयी हुँदा त्यसको गम्भीर असर अर्थतन्त्रमा पर्छ । यही अवस्था केही समय रहेमा अर्थतन्त्र दुर्घटनामा पर्न सक्दछ । अव्यावहारिक नीतिका कारण व्यापार र उत्पादन क्षेत्र समस्यामा परेको छ । यस्ता समग्र समस्याको निकासमा अब तपाईंको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य संघको भूमिका कस्तो हुन्छ ? संघले प्रत्येक प्लेटफर्ममा उद्योग व्यापार र अर्थतन्त्रको उन्नयनका एजेण्ड उठाउँदै आएको छ । यसलाई निरन्तरता दिन्छ । वीरगञ्ज ठूलो सम्भावना भएको ठाउँ हो । उद्योग र व्यापारका लागि आवश्यक पर्ने ठूला संरचना भएको क्षेत्र पनि हो । यो चलायमान भएमात्र अर्थतन्त्रले गति लिन सक्दछ । तर, यस्ता सम्भावनाको बढीभन्दा बढी उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार र निजीक्षेत्रबीच रचनात्मक सहकार्यका लागि संघले पहल गर्दै आएको छ । वीरगञ्जलाई आर्थिक राजधानी भनिएको छ । तर, त्यसअनुसारको नीतिगत व्यवहार पाइएको छैन । हामीले यी कुरा उठाउँदै आएका छौं । यस्ता विषयमा समयमै उचित तरीकाले सम्बोधन नभए देश नै आर्थिक दुर्घटनामा पर्ने सम्भावना निकट देखिरहेको छु । वीरगञ्जको विशिष्टता कसरी उपयोग गर्न सकिन्छ जस्तो लाग्छ ? वीरगञ्ज उद्यम र व्यापारको व्यावहारिक ठाउँ हो । राज्य पक्षले उद्यम व्यापारको वातावरण बनाउने हो भने दुवै पक्ष मिलेर समाधान निकालेर अगाडि बढ्न सकिन्छ । वीरगञ्जको विशिष्टतालाई अर्थतन्त्रको सबलीकरणको प्रस्थान बिन्दु बनाउन सकिन्छ । त्यसका लागि सरोकारका सबै पक्षसँग सहकार्यका लागि हामी सधैं तत्पर छौं  । अहिले सतहमा देखिएको समस्या समाधान हुन सक्छ । सीमाक्षेत्रमा तस्करी र राजस्व चुहावटका समस्या पनि छन् । तर, यो रोक्नु ठूलो उपलब्धि होइन । यो प्रहरी लगाएर मात्र सम्भव हुँदैन । यसको नीतिगत सम्बोधन हुनुपर्दछ । नीति परिवर्तन गर्नुपर्दछ । भन्सारको राजस्व र मूल्यांकन प्रणालीलाई व्यावहारिक बनाए चुहावट नियन्त्रण हुन सक्दछ । नीतिमा स्थायित्वको आवश्यकता छ । हामीले यस्ता विषयमा बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं । हाम्रो कुरा जायज छैन भने सरकारले भन्नुपर्‍यो, होइन भने सम्बोधन हुनुपर्‍यो । वीरगञ्जको विशिष्टतालाई अर्थतन्त्रको सबलीकरणको प्रस्थान बिन्दु बनाउन सकिन्छ । तपाईंहरूले वर्षौंदेखि उठाउँदै आएका एजेण्डा एकै खालका छन् । ती जायज भए त सम्बोधन भइसक्ने थियो होला नि, होइन र ? सरकारले जायज विषयलाई पनि सम्बोधन गर्न चाहेको छैन । सरकारले हतारमा एउटा नीति ल्याउँछ । सरकारले ल्याएको नीतिले केही सकारात्मक परिवर्तन आएको देखिँदैन । यसले अर्थतन्त्रका पक्षहरूलाई झन् समस्यामा पार्ने काम गरेको छ । अव्यावहारिक नीतिका कारण व्यापार र उत्पादन क्षेत्र समस्यामा परेको छ । वीरगञ्जबाट भन्सार राजस्वमा ४०/४५ प्रतिशत योगदान छ । सरकारले अहिलेसम्म बील भ्यालूलाई मान्यता दिएको छैन । जबकि अहिले व्यापारको प्रवृत्ति र प्रविधि नै परिवर्तन भइसक्यो । अन्तरराष्ट्रिय बजारमा वस्तुको मूल्यमा दिनदिनै उतारचढाव आइरहेको हुन्छ । यो थाहा पाउन कठिन छैन । निजीक्षेत्र र सरकार बसेर छलफल भयो भने यससम्बन्धी समस्याको निकास अवश्य निस्किन्छ । भन्सारमा बील मूल्यलाई मान्यता दिँदा अरू केही कुरा भए अनुसन्धानका निकायले हेर्न सक्छन् । त्यसमा केही समस्या छ भने निकास निकाल्नुपर्दछ । व्यापारका विरोधाभासलाई मूल प्रवेशमै सच्च्याउन सकिन्छ भने किन नगर्ने ?

अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ: उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकले भोगिरहेको आर्थिक संकटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले जुन संकटको अवस्था छ, त्यो आयातमा निर्भर हुने अवस्था भएकाले हो’, उनले भने, ‘त्यसको समाधानका लागि कृषि र पर्यटनलाई […]