धान झुल्ने फाँटमा व्यावसायिक कागतीखेती

बागलुङ । बागलुङ नगरपालिका–१४ अर्माहाका किसानले झण्डै साढे २०० रोपनी जग्गा एकीकृत गरी व्यावसायिक कागतीखेती  गर्दै आएका छन् । ‘चासो कृषक समूह’मा आबद्ध ६२ किसानले बागलुङ–१२ सहेँलाको धानखेती हुने फाँटमा व्यावसायिक रूपमा कागतीखेती गरेका हुन् । गतवर्ष लगाएका २ हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप २ हजार बिरुवा लगाउने भएका छन् । ‘हाम्रो योजना ६ हजार बिरुवा ३०० रोपनी जग्गा पु¥याउने हो,’ समूहका अध्यक्ष केशव सुवेदीले भने, ‘एकैपटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।’ सुन कागती–२ जातको कागती उनीहरूले लगाएका छन् । सहेँलामा खेतीयोग्य जमीन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ कागतीखेतीका लागि किसानले ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । ‘उनीहरूको उत्साह र मेहनत निकै राम्रो छ, यो समूहमा भएको खेती अरू किसानका लागि नमूना हुन सक्छ,’ नगर प्रमुख जनकराज पौडेलले भने, ‘सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।’ ५ वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्ष पनि थपिने २ हजार विरुवा सुन कागती–२ जातकै हो । १ करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट करीब रू. २० लाख अनुदान पाएका छन् । ‘एउटा बोटमा ४० किलोसम्म फल्छ, हामीले विक्री गर्दा सय रुपैयाँसम्ममा विक्री गर्न सकिएला,’ अध्यक्ष सुवेदीले भने, ‘विरुवा वयष्क हुँदा सिजनमा १ करोड ६० लाख आम्दानी गर्ने योजना छ ।’ एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकीकृत गरिएको हो । ५ वर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

अन्नबाली छाडेर कागतीखेती शुरु

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाउनुभएको छ ।

किसान कागतीखेतीतर्फ आकर्षित

बनियानी (झापा) । मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् ।  धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका...