नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सो बाटो निर्माण गर्न रु एक करोड ८ लाख खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । सेनाका सुदूरपश्चि पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गर्ने कार्यक्रम छ । उक्त बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।
महाकाली तटीय क्षेत्रको उक्त बाटो बर्सेनी वर्षात् बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको छ । भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समूदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लिदै आएका थिए ।