काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६२ दशमलव ३४ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ११ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ४२ लाखमा झरेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३० प्रतिशत र सञ्चालन नाफा ६२ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा पनि घटेको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. २ करोड २७ लाख छुट्याएकोमा चालू आवमा रू. ४ करोड ९४ लाख छुट्याएको छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ७६ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव १६ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ५६ करोड १० लाख रहेको छ । जगेडामा कम्पनीले रू. १७ करोड ८९ लाख सञ्चिती गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ५०(वार्षिक), मूल्य आम्दानी अनुपात ७९ दशमलव ५३ गुणा,तरलता अनुपात ३ दशमलव ३९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९० कायम भएको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस