विराटनगर (अस) । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल शुरू गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको बारेमा छलफल शुरू गरेको हो ।
महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमवार उद्योग वाणिज्य महासंघ, उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन), एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
छलफलमा सहभागीहरूले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको गुनासो समेत उनीहरूको थियो । छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, विराटनगर अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुंगानाले विभिन्न सुझाव दिएका थिए ।
त्यसैगरी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग संघ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद हुमागाईं, नेपाल डेन्टल एशोसिएशन मोरङकी महासचिव डा. मीरा आचार्य, मोरङ बचत संघकी अध्यक्ष सीता लामिछाने, बृहत् साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।
उनीहरूले जनताका आधारभूत सेवाका क्षेत्रका रूपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको नेतृत्वले सरसफाइ, पार्किङ, सुशासनलगायत क्षेत्रमा महसूस हुनेगरी काम गरेको दाबी गरेको छ । मेयर कोइरालाले प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।