जेठ १४, चितवन । चितवनमा गत जेठ ६ गते आएको असिनापानीसहितको हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति अनुमान गरिएको छ ।
चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बीघामा लगाइएको केराखेती पूर्णरुपमा क्षति भएको हो । ठूलो क्षेत्रफलमा केराखेती गरिरहेका र सानो क्षेत्रफलमा लगाइएको केराखेती गरी हावाहुरी र असिनापानीले औषत ८० प्रतिशतसम्म क्षति भएकोे संघका महासचिव जनकराज पन्तले जानकारी दिए ।
‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ । केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले गरेका छैनन्’, उनले भने ।
विगतका वर्षहरुमा हावाहुरीले आंशिक रुपमा क्षति गरेपनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति हुँदा उक्त रकम बराबरको क्षति अनुमान गरिएको पन्तले बताए । पश्चिम चितवनमा त्यति क्षति नभएपनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्ण रुपमा क्षति भएको संघको भनाइ छ ।
चितवनमा ७५० जना किसानले ३ हजार ५०० बीघामा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । तर ३०० जना किसानले मात्र विमा गरेका छन् । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बीघामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट भएको र १५ लाख रूपैयाँ नोक्सान भएको किसान भट्टले बताए ।
अर्का किसान ऋषि गुरूङको १८ बीघामा लगाएको केराखेती नष्ट हुँदा २० लाख बराबरको नोक्सान भएको छ । बगानको ७५ प्रतिशत केरा नष्ट भएको गुरूङले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरीले बढी क्षति भयो, गुरुङ्गले भने, ‘तयार भएर बजारमा जान लागेको पनि केही छैन, भर्खर कोसा लाग्न लागेको पनि सखाप भयो ।’
महासचिव पन्तको साढे २ बिघा क्षेत्रफलमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रूपैयाँ क्षति भएको उनले बताए । आफूले लगानी र खर्च त परै जाओस जग्गा भाडा पनि तिर्न नसक्ने अवस्था रहेको उनले बताए ।
रत्ननगर–५, झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बीघामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुने गरेको छ । जिल्लामा वार्षिक ७० हजार टन बढी अर्थात् २ अर्ब रुपैयाँ बराबरको केरा उत्पादन हुँदै आएको छ ।
जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं र बाँकी ३० प्रतिशत देशका अन्य सहरहरुमा विक्री हुने गरेको छ ।