खाद्य गुण नियन्त्रण डिभिजन बैतडीद्वारा १२ ओटा पसललाई कारवाही

भदौ १०, बैतडी । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले १२ ओटा पसललाई कारवाही गरेको छ । उपभोक्ताको हितलाई ध्यान नदिने, गुणस्तरहिन र म्याद सकिएका वस्तु विक्री गर्ने पसललाई कारवाहीको लागि सिफारिस गरेको हो । कार्यालयले सिफारिस गरेका १२ ओटामध्ये पाँच पसलको मुद्दा दायर गरेको छ चारको फैसला भइसकेको छ । पाँच पसलको सरकारी वकिलसँग राय सुझावको लागि पठाएको र तीन ओटा पसल कार्यालयको अनुसन्धानमा रहेको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका खाद्य अनुसन्धान अधिकृत कृष्ण दत्त लेखकले बताए । उनले भने ‘उपभोक्ताको हितलाई मध्यनजर नगर्ने व्यापारीलाई खाद्य निमावली अनुसार कारवाही गरिएको हो’ । मुद्दा दायर भएकामध्ये फैसला भएका राज स्वीट हाउस गोठलापानी, जन्ता होटल पन्जुकानया दोगडाकेदार, निङ्गलासैनी चियानस्ता पसल देहिमाण्डौ, ग्रेस मदिरा पसल र आरती किराना पसल पुर्चौडी रहेका छन् । यि व्यवसायमा उपभोग्य मिति समाप्त, लेवल अपूर्ण जस्ता कमजोरी भेटिएका थिए । राज स्वीट हाउस, जनता होटल पन्जुकानयाले ५ ५ हजार र ग्रेस मदिरा पसल, आरती किरना पसल पुर्चौडीले १० १० हजार जरिवाना तिरेका छन् । कार्यालयले गर्ने नमूना संकलनमा अखाद्य एवम् गुणस्तरहिन समान देखिएमा कार्यालयले दुई प्रकारको कारवाहीको लागि सिफारिस गर्छ । कार्यालयले लेवल र म्याद सकिएका  समानको मुद्धा जिल्ला प्रशासन कार्यालयलाई र न्यून गुणस्तर र दुषित प्रकारकाका वस्तुको मुद्धा अदालतलाई सिफारिस गर्ने गर्छ । कार्यालयलाई दिएको लक्ष्यभन्दा पनि बढि पटक पसलहरुको अनगमन गरेको पाइएको छ । कार्यालयलाई वार्षिक नमूना संकलन लक्ष्य ११५ दिएकोमा ११६ नमूना संकलन गरेको छ । यस्तै अनुसन्धनात्मक नमूना संकलन १०० को लक्ष्य दिएकोमा १०३ संकलन गरिएको, बजार अनुगमन ५० को लक्ष्य दिएकोमा १७८ पटक अनुगमन र होटेल अनुगमन ५७ ओटाको लक्ष्य दिएकोमा ८८ ओटा होटल अनुगमन गरेको गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले जानकारी दिएको छ । कार्यालयले आफ्नो कार्याक्षेत्राधिकार भित्रको अनुगमन नमूना संकलन व्यावसायिहरुलाई प्रशिक्षण जस्ता कार्य गर्दै आइरहेको छ । कार्यालयले जिल्ला प्रशासन र स्थानीय तहसँग मिलेर सयुक्त अनुगमन समेत गरेको छ ।  कार्यालयले बैतडीमा रहेका २५ होटलहरुको स्तरीकरण समेत गरेको छ । जसमा एक उत्तम, चार सन्तोषजनक, ११ समान्य र ९ न्यूनतम मापदण्ड नपुगेकामा राखेको छ ।