भारतले नेपालसँगको सीमावर्ती क्षेत्रमा १९ ओटा ल्यान्ड कस्टम स्टेशन (भन्सार कार्यालय) स्थापना गर्ने तयारी गरेको छ । भारतले नेपालसँगको द्विपक्षीय व्यापार अभिवृद्धि र सुधारका लागि भन्सार कार्यालय थप गर्ने बताइरहँदा नेपालले यस्ता कार्यालयबाट कसरी लाभ लिन सकिन्छ भन्नेबारे सोच्न आवश्यक छ । भारतले नेपालसँगको व्यापार सुदृढीकरणका लागि समन्वय, सहयोग र सहकार्यको सिद्धान्तलाई अघि बढाउँदै कार्यालय थप गर्न थालेको भारतीय गृहमन्त्रीले उल्लेख गरेका छन् ।
भारत नेपालसँग सीमा जोडिएको नजिकको छिमेकी मात्र नभई खुला सिमानाको मुलुक पनि हो । यस्तो अवस्थामा भारतले भन्सार कार्यालय थप गर्नु राम्रो हो । भारतले विशुद्ध आफ्नो लाभका लागि भन्सार कार्यालय थप गर्न लागे पनि यसबाट नेपाली व्यवसायीलाई पनि सहज हुन्छ । थपिने भन्सारमा १० ओटा विहार राज्यमा स्थापना गर्ने भनिएको छ । नेपालको कोशी, मधेश प्रदेशसहित भौगोलिक र भौतिक रूपमा व्यापारको बढी सम्भावना भएका क्षेत्रको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । अहिले भारतबाट सामान लिएर गाउने ट्रकहरूमध्ये धेरैजसो रित्तै फर्कने गरेका छन् । के नेपालले यस्ता ट्रकमा सामान राखेर भारत निकासी गर्न सक्दैन ? भारतले नेपालमा आलुप्याजदेखि विभिन्न उपकरण पठाउँछ भने नेपालले पनि केही न केही पठाउन सक्नुपर्ने हो । नेपालमा आवश्यक पर्ने तर आधुनिक उपकरण तत्काल उत्पादन गर्न कठिन हुन्छ भने पनि भारत र नेपालको समान भौगोलिक अवस्था र हावापानीमा उत्पादन हुने कृषि र पशुजन्य उत्पादन एक अर्को देशमा पुग्नु पर्ने हो ।
नेपालमा उत्पादन भएको कृषिबाली भारतमा निकासी हुन सक्छ भन्ने कुरा केही समय अघी नेपालबाट भारतमा गोलभेडा निकासी हुन सकेकोबाट पुष्टि भइसकेको छ । यसले भारतमा आवश्यक पर्ने उत्पादन नेपालमा हुन सक्दा निकासी हुन सक्दो रहेछ भन्ने देखाएको छ । यसबाहेक अलैंची, चिया, अदुवाजस्ता उत्पादन पनि भारत जाने गर्छन् । केही वर्षअघिसम्म नेपालबाट ठूलो मात्रामा गाईबस्तुको घ्यू भारत निकासी हुने गथ्र्यो । तर, पछिल्लो समयमा भारतमा हुने निकासी घट्दो छ । यसको विपरीत आयात हुने वस्तु बढेको बढ्यै छन् । त्यसैले नेपालले भारत र अन्तरराष्ट्रिय बजारमा के कुराको आवश्यकता छ, त्यतातर्फ ध्यान दिन आवश्यक देखिएको छ । यो कुरा सामान्य किसानका लागि कठिन होला तर सरकारी निकाय र ठूला निजीक्षेत्रले सोच्न आवश्यक छ ।