जनसम्पर्क समितिले अपूर्ण नक्सा प्रयोग गरेकोमा कतार नेपाली एकता समाजको विरोध

रामप्रसाद पराजुली/दोहा । कतार नेपाली एकता समाजले नेपाली काङ्ग्रेसको कतारस्थित भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारले लोगोमा अपूर्ण नक्सा प्रयोग गरेकोमा विरोध व्यक्त गरेको छ । समाजका अध्यक्ष विष्णु थापाक्षेत्रीको हस्ताक्षरमा २०७७ चैत ८ गते जारी प्रेसवक्तव्यमा विरोध व्यक्त गरिएको छ । नेपाली काङ्ग्रेसको भारतपरस्त नीति अपनाउने गरेकोमा कतार नेपाली एकता समाजले त्यसको विरोध गर्दै त्यसलाई तत्कालै सच्याउन माग गरेको छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ: “नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समिति कतारको लोगो सङ्गठनको नामसहित नेपालको अपूर्ण नक्सा अङ्कित छ । उनीहरुले अहिले पनि पुरानै लोगो प्रयोग गरेका छन् । खासगरी नेकाले सुरुदेखि नै भारतपरस्त नीति अपनाउने गरेको कुरा आम रूपमा छर्लङ्ग छ । जनसम्पर्क समिति कतारको गत शुक्रबार सम्पन्न भएको पाँचौँ अधिवेशनमा नेपालको लिपुलेक लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा नदेखिनु उनीहरूले प्राविधिक रूपमा मात्र गल्ती गरेको भन्न सकिन्न । यो विाषय राष्ट्र र राष्ट्रिय स्वाधीनताप्रतिको बेवास्ता पनि हो । तसर्थ हामीले उक्त अपरिपक्व कदमको तीव्र शब्दमा विरोध गर्दछौँ । त्यसो त धेरै अन्य सङ्घसंस्थाहरुले पनि नेपालको पूर्ण नक्साङ्कित लोगो बनाएर प्रयोगमा ल्याउने गरेका छन् । नेपालको नक्सालाई कुनै पनि सङ्घसंस्थाहरूले सामान्य रूपमा लोगो बनाएर प्रयोग गर्ने कृयाकलापलाई हामीले गलत मान्दछौँ र त्यसलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।” बिष्णु थापा क्षेत्री अध्यक्ष कतार नेपाली एकता समाज केन्द्रिय समिती