पुरानो बसपार्कको निर्माणाधीन भ्यु टावरमा पार्किङ खुला [तस्वीरहरू]

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरमा सर्वसाधारणका लागि अन्डरग्राउन्ड पार्किङ खुला गरिएको छ । काठमाडौं महानगरपालिकाले गत वैशाख २२ गतेबाट भ्यु टावरमा अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो । यसले महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान गरिएको छ ।  महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी (पीपीपी) विभागका प्रमुख महेश काफ्लेले अहिले शुरुवातमा भ्यु टावरमा ३ सयओटा चार पाङ्ग्रे र हजारओटा दुई पाङ्ग्रे सवारीसाधन पार्क गर्न मिल्ने बताए । सो क्षेत्रमा न्यूनतम शुल्कमा पार्किङको व्यवस्था गरिएको उनको भनाइ छ ।  उनका अनुसार टावरको २ तला भूमिगत पार्किङको रूपमा प्रयोग गरिनेछ । उक्त तलामा ३ सय सवारी अटाउने उनले बताए । यस्तै, भुइँतलामा मोटरसाइकल पार्किङ रहने उनको भनाइ छ ।  यो पार्किङले रत्नपार्क र न्युरोड आसपासको पार्किङलाई धान्ने भएकाले त्यहाँको समस्या हल हुने महानगरपालिकाको विश्वास छ ।