महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको बताएको छ ।
स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कँुवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । ‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौं,’ कँुवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’
त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले बताएको छ । रासस