यो वर्ष (सन् २०२३) को ५ महीनामा ४ लाख ४ हजार २३१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । तथ्यांकअनुसार जनवरी महीनामा ५५ हजार ७४ जना, फेब्रुअरी महीनामा ७३ हजार २५५ जना, मार्च महीनामा ९९ हजार ४२६ जना, अप्रिल महीनामा ९८ हजार ७७३ जना र मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरिसकेका छन् । सन् २०२२ को ६ महीनामा २ लाख ३७ हजार चानचुन विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
यसरी सन् २०२२ को ६ महीना र सन् २०२३ को ५ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या तुलना गर्दा सन् लगभग ४५ प्रतिशतले बढी देखिन्छ । त्यसैले यो वर्ष यही गतिमा विदेशी पर्यटकको आगमन भएमा नेपालमा कम्तीमा ९ लाख ५०–६० हजारदेखि १० लाख १०–१५ हजारसम्म संख्या पुग्ने सम्भावना देखिन्छ । सन् २०२२ को ६ महीनामा विदेशी पर्यटकबाट २५ अर्ब ५२ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०२३ मा चाहिँ ५ महीनाको अवधिमा उनीहरूले कति रकम खर्च गरे भन्ने सम्बन्धमा तथ्यांक बाहिर आइसकेको छैन ।
आर्थिक वर्ष २०७७–०७८ (सन् २०२१) को सोही अवधिमा पर्यटन क्षेत्रबाट केवल ६ अर्ब ६९ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिएर बिस्तारै विश्वव्यापी रूप लिएको कोभिड–१९ को महामारीका कारण त्यस बेला नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अनपेक्षित रूपमा धक्का खानु परेको थियो । तर, अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘कोरोना फ्री’ भनी घोषणा गरिसकेकाले विश्व पर्यटन गतिविधिले तीव्रता लिइरहेको छ ।
हुन त नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि मात्रै हो । त्यस यताको लगभग ६० वर्षपछि अर्थात् सन् २०२३ मा फेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ, जुन धेरै राम्रो हो ।
नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको यही संख्याको गतिलाई हेरेर नै होला, नेपाल सरकारले सन् २०१८ मा नेपाल भ्रमण वर्ष मनाउने भनी घोषणा गरेको थियो । तर सन् २०१८ मा विविध कारणले गर्दा नेपाल भ्रमण वर्ष मनाउन नसकेपछि फेरि सन् २०२० मा एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्त्याउने महात्त्वाकांक्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने घोषणा र तयारी गरियो । तर, कोभिड–१९ ले महामारीको रूप लिएकाले नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगित गर्यो । सबै तयारी पूरा गर्दै केही कार्यक्रम लागू गरिसकेको र उद्घाटनसमेत भइसकेको भए तापनि यसलाई स्थगित गर्नु परेको थियो । त्यस्तै त्यस बेला नै विश्वको पर्यटन र पर्यटन उद्योगका विज्ञहरूले अब विश्व पर्यटनमा सुधार आउनका लागि कम्तीमा पनि सन् २०२४/२६ सम्म लाग्ने अनुमान गरेका थिए ।
त्यो पनि सन् २०२१/२२ मा नोभेल कोरोनाभाइरस ठीक भएमा अथवा हराएर गएमा । महामारी रोगका विज्ञहरूले अनुमान गरेभन्दा लगभग १ वर्ष बढी समय लागेको छ, कोरोना महामारी रोकिन वा भनौं कम हुन । त्यो पनि पूर्ण रूपमा बन्द भएको देखिएको छैन । आगामी दिनमा नेपालमा पनि जति सक्दो धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्त्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा नेपाली पर्यटन उद्योगको छिट्टै प्रगति हुने छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक साह्रै ‘मक्खिचुस’ भने होइनन् । किनभने, विगत केही वर्षदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध विभिन्न संघसंस्थाले अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए, छन् ।
साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि विश्वकै धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका छन्, दरिने गरेका छन् । अहिले चिनियाँहरूकै सहयोगमा पोखरामा ड्रागन बोट प्रतियोगिता आयोजना गरियो । यसमा भाग लिने चिनियाँहरू विमान चार्टर गरेर पोखरामै ओर्लिए । यसले आगामी दिनमा चिनियाँ पर्यटक यसरी नै पोखरा आउने सम्भावना बढेको छ ।
विगतमा भारतीयपछि दोस्रो बढी संख्या चिनियाँ पर्यटकको थियो । अहिले त्यस्तो छैन तैपनि अब चिनियाँ पर्यटक बढ्दै जाने आशा गर्न सकिन्छ । उनीहरूका लागि पोखरा सबैभन्दा आकर्षक नेपालको पर्यटकीय गन्तव्य हो । त्यसैले उनीहरू पोखरामा आउन लालायित नै देखिन्छन् । त्यहाँ बनाइएका विभिन्न पर्यटकीय पूर्वाधारले पनि चिनियाँ पर्यटकलाई लोभ्याएको देखिन्छ । अहिले विमान चार्टर गरेर आएकाले नेपाली व्यवसायीले यसरी चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल ल्याउन पहल गर्नुपर्छ । यसो गर्न सके नेपालको पर्यटन पूर्णरूपमा पुनरुत्थान हुने देखिन्छ । तर, उनीहरूले गर्ने खर्च भने यहाँ सञ्चालन हुने गतिविधिमा निर्भर हुने देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।