भदौ १५, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरिएको बताएको छ ।
साउन २६ गते सर्वसाधारणमा आईपीओ विक्री गरेको कम्पनीले हालसम्म उक्त शेयर सूचीकरण गरेको छैन । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियो । शेयर रजिष्ट्रार परिवर्तन गर्नुपरेकाले आईपीओ सूचीकरणमा ढिलाई भएको कम्पनीले बताएको छ ।
कम्पनीको आईपीओ ६८ हजार ४७४ जना आवेदकहरुमा बाँडफाँट गरिएको थियो । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ विक्री गर्नुअघि कम्पनीले आयोजना प्रभावित स्थानियका लागि २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।
कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम भएको छ । यो शेयरमा संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ ।
उक्त कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।
आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ९५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।