अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता

जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् । चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।