म्याग्दी । म्याग्दीको रणनीतिक महŒवको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माण अझै शुरू भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।
सडक विस्तार गरेर कालोपत्र गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ,’ उनले भने, ‘पछिल्लो आठ महिनायता सडक निर्माण ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।
बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बीच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारीसाधन ठोक्किने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे । ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन,’ उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’
लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले बताएको छ । फोन सम्पर्क गर्दा आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएको र काममा फर्काउन ताकेता गरिएको कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।
बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीनओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रको तयारी भएको छ ।
समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।