चियामा सम्भावना

बढ्दो उच्च आयातबाट अत्तालिएर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तर, निर्यातको सम्भावना उच्च भएका वस्तुको उचित प्रवद्र्धनका लागि भने काम गर्न सकेको छैन । यसको एउटा उदाहरण चिया हो । अन्य वस्तुको निर्यात घटेको तथ्यांकले देखाए पनि चियाको निर्यात भने कोरोनाकालमा समेत बढेको देखिन्छ । यूरोपमा निर्यात गर्न सकिने गुणस्तरीय चिया उत्पादन भएर पनि बजारीकरण गर्न नसक्दा अधिकांश निकासी भारततर्फ भइरहेको छ जसबाट नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि थपिन सक्छन् । नेपालमा चियाखेतीको विकासका लागि सरकारी स्तरबाट प्रयास भएको निकै भइसकेको छ । २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भई चियाखेतीको विस्तार गर्न थालेको देखिन्छ । २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चियाक्षेत्र घोषणा गरियो । २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । सरकारका तर्फबाट यी प्रयास भए पनि नेपालको भौगोलिक अवस्थिति र यहाँको हावापानीका कारण चियामा जति सम्भावना छ त्यति यो विस्तार हुन सकेको छैन । चियाको खेती र उत्पादन नबढेको होइन, निर्यात पनि नबढेको होइन तर नेपाली चियाको गुणस्तर अनुसार यसले जति मूल्य र बजार पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको आफ्नै केही कमजोरी कारण रहेका छन् । तीन वर्षको चिया निकासीको तथ्यांक केलाउँदा यसको निर्यात वृद्धिदर बढ्दो छ । २०७६/७७ मा २ अर्ब ७८ करोड निर्यात भएको चिया चालू आवको ९ महीनामा नै २ अर्ब ३६ करोड बराबरको निकासी भइसकेको छ । तर, निर्यातको ठूलो अंश भारततर्फ भएको छ । यूरोप निकासी हुँदा प्रतिकेजी १२/१३ सय रुपैयाँ मूल्य पाउन सक्ने चियाले भारतमा भने ३ सयको हाराहारीमा मात्रै मूल्य पाएको छ । त्यसैले यसलाई तेस्रो मुलुकमा निर्यात गर्न सरकारले विशेष प्रवद्र्धनात्मक नीति लिनुपर्ने देखिन्छ । नेपाली चिया उत्पादनमा गुणस्तर भए पनि यसमा विषादी प्रयोग गरिएको आरोप लागेको छ । त्यही भएर यूरोपमा राम्रोसँग निर्यात हुन नसकेको बताइन्छ । त्यसो त नेपाली चियालाई विश्वमा आफ्नै ब्रान्डमा चिनाउने प्रयास नभएको होइन । ‘नेपाल टी : क्वालिटी फ्रम द हिमालयाज’ ब्रान्डमा विक्री हुन थालेको छ । विश्वमा नेपाली चियालाई चिनाउन यो ब्रान्ड बनाइए पनि यसलाई स्थापित गराउन सकिएको छैन । यसलाई स्थापित गराउन नेपाली ब्रान्डलाई यूरोप र अमेरिकाले मान्यता दिनुपर्छ । यो मान्यता दिलाउन बोर्डले प्रयास गरे पनि सफल हुन सकेको छैन । बोर्डले पर्याप्त बजेटका अभावमा यो काम गर्न नसकेको देखिन्छ । नेपालले ब्रान्ड मान्यताका लागि दिएको निवेदन यूरोपेली संघले फिर्ता पठाएको छ जबकि नेपाली चियाको सम्भावित सबैभन्दा ठूलो बजार त्यही हो । अमेरिकामा पनि नेपाली ब्रान्डले मान्यता पाएको छैन । भारतले यसलाई मान्यता दिने बताएको छ तर भारतले दिने मान्यताले नेपाली चियालाई खासै फरक पर्ने देखिन्न । नेपाली चिया गुणस्तरीय भएकोमा विवाद छैन । भारतीय व्यवसायीले नेपाली चिया लगेर दार्जलिङ टीको ब्रान्डमा यूरोप पठाउने गरेका छन् भनिन्छ । नेपालको आफ्नै ब्रान्ड भए पनि त्यसले पहिचान बनाउन सकेको छैन । बोर्डले यूरोपको बजारमा यो ब्रान्डको प्रचारका लागि काम गर्न सकेको छैन । सामूहिक ब्रान्ड बनाए पनि ती देशमा दर्ता हुन नसकेकाले यसले काम गर्न नसकेको हो । त्यसैले ब्रान्डलाई स्थापित गराउन नेपालले ठूलै मेहनत गर्नुुपर्ने देखिन्छ । चिया टिप्ने र त्यसलाई प्रशोधन गर्ने तरिकाले पनि यसको मूल्यमा प्रभाव पार्छ । त्यसैले यसलाई आधुनिकीकरण गरिनुपर्छ । नेपाली अर्थोडक्स चियाले बढी मूल्य पाएकाले यस्तो चिया उत्पादनलाई बढी प्रोत्साहन दिनु आवश्यक छ । चियामा देखिएको सम्भावनालाई उपयोग गर्न किसान, व्यवसायी तथा सरकारी संयन्त्रले अलिकति मात्र मेहनत गर्ने हो भने विदेशी मुद्राको आम्दानी वृद्धि हुनाको साथै रोजगारीका अवसर पनि थपिन सक्छन् ।