स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

विराटनगर । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ । भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल  प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो । आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो । घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो । अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई  कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिश गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।