अक्सिजन प्लान्ट स्थापना र पीसीआर मेशिन व्यवस्थापन गर्न कार्यदल

खोटाङ । खोटाङमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट तथा पीसीआर मेशिन खरीद एवं व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ । जिल्लामै अक्सिजन प्लान्ट तथा पीसीआर ल्याब स्थापना गर्न आवश्यक बजेट तथा जनशक्ति व्यवस्था गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकको संयोजकत्वमा चारसदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा जिल्ला समन्वय समितिले तोकेको एक, जिल्ला प्रशासन कार्यालयले तोकेको एक र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य रहने कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले बताएको छ । जिल्लामै अक्सिजन उत्पादन गर्दैै अक्सिजनको अभाव पूर्ति गर्न अक्सिजन प्लान्ट तथा कोभिड परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पीसीआर मेशिन खरीद तथा व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको शुक्रवार साँझ बसेको बैठकले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्ने, त्यस्ता चाडबाडलाई औपचारिकताका लागि घरभित्र पनि सीमित संख्याको उपस्थितिमा मनाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सीसीएमसी÷डीसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्ने÷गराउने निर्णय गरिएको संयोजक चाम्लिङले जानकारी दिए । रासस