पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुँदै

कास्की। पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहज रूपमा तिहारका लागि आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको बताइएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिले शनिवारदेखि ‘रैथाने’ नामक हाटबजार शुरू गर्न लागेका हुन् । हाटबजारमा स्थानीय उत्पादनका करीब एक दर्जन स्टल रहने पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार हाटबजारमा मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकलाका सामान, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज र सगुन हस्तकलाले तयार गरेको धागोका सामान राखिनेछन् । यस्तै पुष्पाञ्जलीले तयार पारेको विवाहका लागि सामान, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला शीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री विक्रीका लागि राखिनेछन् । रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार पनि राखिने महानगर आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले बताए । स्टलमा स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापर र तरकारी पनि राखिनेछ ।