मेन्छियाम हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा विक्री गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गरेको थियो ।  फागुन १० गतेदेखि २५ गतेसम्म विक्री गरिएको उक्त आईपीओ रितपूर्वक आवेदन दिने आवेदकहरूलाई चैत ७ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । स्थानीयमा जारी भएको आईपीओ आजसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ ।  कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ । कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यीबाहेकका संखुवासभाका बासिन्दाहरूमा विक्री हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । स्थानीय वासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं.७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले संखुवासभामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परीक्षण उत्पादन शुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ छ ।  अधिकृत पूँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ कायम हुनेछ ।  आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष छ । आयोजनाको विद्युत् उत्पादन अनुमति २८ वर्ष बाँकी छ ।