लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

रुपन्देही ।लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघको ११ औं अधिवेशनले अजयकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि गुप्ताले महासचिवको जिम्मेवारी सम्हालिरहेका थिए । गुप्ताको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार आश्वानी, प्रथम उपाध्यक्ष अजय अधिकारी, […]

सम्बन्धित सामग्री

संघको सशक्त नेतृत्वका लागि अध्यक्षमा मेरो उम्मेदवारी

ललितपुर उद्योग वाणिज्य संघको ४४औं साधारणसभा यही असोज १९ र २० गते ललितपुरमा हुँदै छ ।  संघको पूर्व वरिष्ठ उपाध्यक्ष* समेत रहेका रविन्द्रराज ताम्रकार संघको आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार हुन् । झन्डै ३० वर्षदेखि संघमा आबद्ध र पछिल्लो १६ वर्षदेखि कार्यसमितिका विभिन्न पदमा रहेर काम गर्दै आएका ताम्रकारसँग उनको व्यावसायिक यात्रा, संघसँगको आबद्धता, संघको नेतृत्वमा आउन चाहनुका कारण लगायत विषयमा आर्थिक अभियानका गणेश सुवेदीले गरेको कुराकानीको सार : तपाईंको व्यावसायिक यात्रा र संघसँगको आबद्धताबारे बताइदिनुस् न ?  मेरो पुख्र्यौली व्यवसाय तामापित्तलका वास्तुकलाका सामग्री निर्माण हो । देशभित्रै र बाहिरसम्म यस्ता सामग्री विक्री गर्दै आएका छौं । यस्ता सामग्री विक्रीका लागि सानो आउटलेट पनि छ । लामो समयदेखि यही पेशामा रहेर विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको छु । ललितपुर उद्योग वाणिज्य संघमा करीब ३० वर्षदेखि आबद्ध छु । २०५१ सालमा संघमा सदस्यको रूपमा प्रवेश गरेको थिएँ । त्यसपछि विभिन्न समितिमा बसेर १६ वर्षदेखि काम गर्दै आएको छु । कार्यसमिति सदस्य, प्रथम उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरिसकेको छु । संघमा आबद्ध भएदेखि नै संगठन विस्तार, प्रचारप्रसार लगायत समितिको जिम्मेवारी पाएँ । हाम्रा कार्यक्रमबारे सदस्य वा गैरसदस्य सबैले जानकारी पाउनुपर्छ भनेर ‘अर्थ बुलेटिन’ तथा स्मारिका प्रकाशनका काम पनि गर्दै आएको छु । म कार्यसमितिमा रहेकै समयमा सहकारी पनि निजीक्षेत्रको एउटा अभिन्न अंग हो भनेर त्यतिबेला ललितपुरमा भएका सहकारीलाई समेटेर सहकारी गोष्ठी आयोजना गरेको थिएँ ।  ललितपुरमा ठूला मेला महोत्सवमा गहन जिम्मेवारी समाल्दै आएको छु । देशमा मात्र होइन, अन्तरराष्ट्रिय स्तरमा समेत सम्बन्ध विस्तार गर्नुपर्छ भनेर एपीओ (एसियन प्रडक्टिभिटी अर्गनाइजेशन) नामक जापानी संस्थासँग सम्बन्ध बढाएको छु ।  ‘प्रडक्टिभिटी अवार्ड’को शुरूआत पनि म वरिष्ठ उपाध्यक्ष भएकै बेला गरेका थियौं । यस्ता कार्यक्रम गर्दै गर्दा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउन एउटा सक्षम नेतृत्वको खाँचो रहेको महसूस भयो । यसका लागि धेरै जनाले ‘अब नेतृत्वमा तपाईं आउनुपर्छ’ भन्नुभएकाले मैले यसपटक संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । संघमा आबद्ध भएर ३० वर्षदेखि काम गरिरहनुभएको छ । अध्यक्षको रूपमा आउनुभयो भने के कस्ता काम गर्ने योजना छन् ?  २०२३ सालमा स्थापना भएको संघ अग्रजहरूको योगदान र त्यागले नै यो उचाइमा आएको छ । संघले नेपालको चेम्बर मुभमेन्टमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महासंघको नेतृत्वमा कसलाई पुर्‍याउने र त्यसका लागि के कस्ता नीति कसरी बनाउने भन्ने तहसम्म हामी पुगेका थियौं । तर ५६ वर्षको इतिहासमा पछिल्लो समय यस संघको भूमिका पहिले जस्तो नभएको हो कि भन्ने महसूस भएको आम व्यवसायीको बुझाइ छ । अर्कोतर्फ, यो संघ जिल्लाका सम्पूर्ण संघको अभिभावक बन्नुपर्ने हो । तर सबैलाई समेट्न नसकेको गुनासो पनि बढ्दै छ । म नेतृत्वमा आएमा यी समस्या सम्बोधन गर्दै अघि बढ्नेछु । जिल्लाभरि नै यसको कार्यक्षेत्र विस्तार गरेर दूरदराजका उद्योगी व्यवसायीले समेत ‘हाम्रो संरक्षक संस्था छ’ भन्ने अनुभूति गराउन मेरो प्रयास रहनेछ । संघको विगतदेखिको छविलाई कायम राख्नेछु । साथै ललितपुरको दक्षिणतर्फ धेरै विकट स्थान छन् । ती स्थानमा पनि औद्योगिक तथा व्यावसायिक पूर्वाधार पुर्‍याउने र स्थानीय उत्पादनको बजारीकरण गर्दै औद्योगिकीकरणमा सघाउने काम संघले गर्नेछ । त्यसमा मेरो ठूलो प्रयास हुनेछ । यस क्षेत्रका धार्मिक पर्यटन स्थल तथा उत्पादनको प्रवर्द्धन र प्रचार प्रसारमा संघले महत्त्वपूर्ण योगदान दिन सक्छ । यस्तै छम्पीमा ‘टुरिजम हब’को रूपमा विकास गर्ने प्रयास भएको छ । ललितपुरलाई चिनाउने यो अर्को विशेष स्थल हुने अपेक्षा गरिएको छ । लुभु–ठैबतिर परम्परागत कपडा उत्पादन हुने गरेको छ, जुन उच्च गुणस्तरका छन् । तर बजार अभावले खेर गएको छ । त्यस्ता उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणमा हामीले सघाउनुपर्छ । उद्यमी व्यवसायीको लगानी तथा व्यवसाय सुरक्षाका लागि कसरी नीतिगत रूपमा कसरी लबिङ गर्नुहुन्छ ? राज्यले विभिन्न बहानामा उद्योगी व्यवसायीको शोषण गर्दै आएको छ । कोरोनाको कारण विश्व नै आक्रान्त रहेको बेला पनि उद्योगी व्यवसायीले आफ्नो क्षमताले भ्याएसम्म सरकारलाई सहयोग गर्दै आएका थिए । अहिले धेरै मुलुकले समस्यामा परेका उद्योगी व्यवसायीको समस्या र गुनासा सम्बोधन गरिरहेकोमा नेपालमा भने त्यसको ठ्याक्कै उल्टो भएको छ । सरकारले सहुलियत दिएर सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा कर असुलीमा मात्रै केन्द्रित भएको छ । यस्तो अवस्थामा आफ्ना कुरा सशक्त रूपमा राख्ने नेतृत्व अहिलेको आवश्यकता हो । तपाईंले अहिले उठाएका विषयमा महासंघले कत्तिको सहयोग गरेको छ ?  नेपाल उद्योग वाणिज्य महासंघ हामी सबैको छाता संगठन हो । यस हिसाबले हाम्रो अभिभावक भनेको यही हो । हाम्रा समस्या समाधानका लागि महासंघको माध्यमबाट विभिन्न स्थानमा ‘डेलिगेशन’ गएका छौं । हाम्रा गुनासो तथा समस्या समाधानमा प्रयास हुँदै आएको छ । महासंघले आफ्नो जिम्मेवारी राम्रैसँग निर्वाह गरिरहेकै छ । तर महासंघसँग पुग्न पनि हाम्रो नेतृत्व सक्षम हुनुपर्‍यो । महासंघसँग सहकार्य गरेर कर तथा राजस्वका कुरामा उद्योगी व्यवसायीलाई सहुलियत लगायत अन्य सुविधा दिलाउन सकिन्छ । म नेतृत्वमा आएँ भने महासंघसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग, वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, राजस्व कार्यालय लगायत निकायसँग समन्वय गरेर समस्या समाधानको प्रयासमा केन्द्रित हुनेछ । तपाईं तामापित्तलका सामग्री निर्माणसम्बन्धी व्यवसायमा संलग्न हुनुहुन्छ । नेपालमा यसको सम्भावना र भविष्य कस्तो छ ?  यो व्यवसायमा सजिलो छैन । तामापित्तलको काम भनेको विशेषगरी परम्परागत भाँडावर्तन बनाउने हो । तर अहिले यस्ता भाँडावर्तनको प्रयोग एकदमै कम हुन्छ । त्यसैले यसका अलावा अहिले मन्दिर, गुम्बामा मूर्ति बनाउँदै आएका छौं । अहिले नेपालमा ठूला ठूला होटल तथा अपार्टमेन्ट/हाउजिङमा तामाका सजावटका सामग्री बनाएर पनि फाइदा लिन सक्ने अवसर छन् । हस्तकला भएकाले अन्तरराष्ट्रिय बजारमा पनि यसको राम्रो माग छ । तर त्यसलाई पूरा गर्न सक्ने अवस्था छैन । अहिले पाताबाट बनाउने सामानको माग तिब्बतदेखि चीनका अन्य ठूला शहरमा समेत छ । कोभिडका कारण घटेको माग पुन: बढ्दै गएको छ । यसको सम्भावना छ । तर दक्ष कामदारको अभाव समस्याको रूपमा छ । यो व्यवसायमा नयाँ पुस्ता आउन चाहिरहेको छैन । यसमा पुस्तान्तरणको समस्या देखिएको छ । अभिभावकले नै आफ्ना छोराछोरीले यो काम नगरिदिए हुन्थ्यो भन्ने सोच्न थालेका छन् । यो पेशा व्यवसायभन्दा जागीर खान वा विदेश पठाउने गरेका छन् । यो समस्या र चुनौतीको समाधान गरेर शीप विकासमा महासंघले पनि सघाउनुपर्छ ।  तपाईंसँग सहकारी क्षेत्रको पनि अनुभव छ । उद्योग व्यवसायी कहीँ कतैबाट यसमा जोडिएका छन् । अहिले यो क्षेत्र समस्यामा छ । यसमा संघको कस्तो भूमिका रहन्छ ? घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था थियो । यसमा सम्बन्धित मन्त्रालय, शहकारी विभागलगायतले नीतिगत रूपमा नियमन गरिदिनुपर्ने थियो । त्यो नगर्नु नै अहिलेको समस्याको मूल कारण हो । सम्बद्ध निकायसँग जनशक्ति पनि नभएर होला । नियमन नै नभएपछि सहकारीले सिद्धान्तविपरीतका काम समेत गर्न थाले । उनीहरूले जथाभावी लगानी गरे, क्षेत्राधिकारभन्दा बाहिर गएर कारोबार गरे र गैरसदस्यलाई पनि कर्जा दिए । यद्यपि राम्रो काम गरेका सहकारी पनि त्यसकै कारण समस्यामा परेको देखिन्छ । सहकारीमा कुनै न कुनै माध्यमबाट हाम्रा उद्योगी व्यवसायी पनि जोडिएका छन् । यसकारण संघले सम्बन्धित निकायमा समस्या समाधानका लागि चासो दिन जरुरी छ । सहकारीको संरक्षण गर्न पनि व्यवसायीको लगानीको सुरक्षा हो ।  *सम्पादन गरिएको