रघुगंगामा दुई ‘बेलीब्रिज’

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईओटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा ८३ दशमलव ५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना एकसाथ निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जिनीयर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए । ३५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुइनेमंगलेका दुईओटा वडालाई सीधा सडक यातायात सञ्जालसँग जोडेको छ । कुइनेमंगलेका वडाध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलीब्रिज बनेपछि बाहै्र महीना गाडी चल्न थालेका बताए । दग्नामको अजिंगर भीरबाट बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलीब्रिज बनाउने तयारी गरेको बताएको छ । राहुघाट नदीमा निर्माण भएको बेलीब्रिजले ४८ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्ग सडक सञ्जालमा जोडेको छ । विद्युत्गृह र निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण थालिएको छ । बन्दीमा बाँध निर्माणाधीन रहेको राहुघाट–मंगले जलविद्युत् आयोजनाको दुईओटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ । चिमखोलाको मलाङमा विद्युत्गृह रहने मंगले राहुघाटको सुरुङ ५ किलोमिटर छ । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले गत मङ्सिरदेखि सुरुङ खन्न थालिएको आयोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । कुल लागत ५ अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले–राहुघाटको आउटलेटबाट १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । रासस