असोज ७, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश गत भदौ १५ गतेसम्मको नाफा नोक्सान हिसाबलाई आधार मानेर घोषणा गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने सम्बन्धी कार्यविधि, २०७७ मा पहिलो संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्वारा एडजस्टिङ इभेन्ट्स हो भनि प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने जानकारी दिएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २७७/७८ को लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ ।
तर यस्तो नगद लाभांश इजाजत प्राप्त संस्थाको २०७८ असार मसान्तसम्म कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने तथा खुद वितरणयोग्य मुनाफा कुल चुक्तापूँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
यसरी वितरणयोग्य मुनाफा गणना गर्दा कुनै अस्पष्टता नरहोस भन्ने हेतुले यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षहरुबाट सञ्चित रहेको वितरणयोग्य मुनाफालाई जोडेर यस वर्षको लागि कुल वितरणयोग्य मुनाफा गणना गर्न भने बाधा नपर्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले तोके बमोजिम मासिक रुपमा औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस शेयरको कर प्रयोजन बाहेको नगद लाभांश घोषणा तथा वितरणमा रोक लगाउने भएको छ ।