सस्तो मूल्यमा खाँडसरीमा उखु विक्री गर्दै रौतहटका कृषक

मंसिर ६, रौतहट । रौतहट जिल्लाका कृषकले यस वर्ष पनि खाँडसरी उद्योगलाई नै उखु विक्री गर्न थालेका छन् ।  जिल्लामा रहेका दुई ओटा चिनी मिलमध्ये श्री राम सुगर मिल बन्द भइसकेको छ भने बाबा बैजुनाथ चिनी मिल सञ्चालनको तयारीमा छ । तर कृषकले लगाएको उखु विक्री गर्ने समय भइसक्दासमेत उद्योग सञ्चालनको टुङ्गो नै नभएपछि खाँडसरीमा उखु दिएका हुन् । गत वर्ष प्रतिक्विन्टल ५०० रुपैयाँभन्दा बढी उखुको मूल्य तोकेको भएपनि हाल खाँडसरीमा उक्त मूल्य नपाएको कृषकहरुले बताएका छन् । सख्खर बनाउने खाँडसरी उद्योगले प्रतिक्विन्टल ३०० रुपैयाँमा उखु लिन थालेको उखु कृषक रविन्द्र सहनीले बताए । अन्य खेती लगाउने समय  भइसकेकाले बाध्य भएर कृषकहरुले उखु धमाधम खाँडसरी उद्योगमा विक्री गर्न थालेका हुन् । एउटा चिनी मिल बन्द भयो, अर्को कहिले खुल्ने टुङ्गो नै छैन, त्यसैले कृषकले खाँडसरीमा उखु विक्री गर्नूपर्ने बाध्यता छ, सहनीले भने ।  यसक्षेत्रमा तोरी, गहुँ, मुसुरो र अन्य बाली लगाउने बेला भइसकेको छ । चिनी मिलको बाटो हेर्दा अन्य बाली लगाउन नपाउने र उखु पनि सुक्ने हुँदा खाँडसरीमा उखु विक्री गर्नु परेको गढीमाई  गाउँपालिका २ समनपुरका किसान रुदल सहनीले बताए ।  अहिले जिल्लामा २४ भन्दा बढिको संख्यामा खाँडसरी उद्योग सञ्चालनमा छन् । चिनी मिलले समयमा नै भुतmानी नदिने गरेकाले तुरुन्त भुतmानी लिनका लागि खाँडसरीमा उखु दिनु परेको उनको सहनीको भनाइ छ ।